२३ आश्विन २०८३, शुक्रबार

दि गो माेटर्सद्वारा युलेन्स स्कुललाई १६-सीटरका ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण



काठमाडाैं । नेपालमा इलेक्ट्रिक मोबिलिटी समाधानको क्षेत्रमा अग्रणी रूपमा काम गर्दै आएको दि गो माेटर्सले युलेन्स स्कुललाई सीएचटीसीका १६-सीटर ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ।

विद्यालय यातायातलाई अझ स्वच्छ, स्मार्ट र दिगो बनाउने दिशामा यो महत्वपूर्ण पहल हो। उक्त गाडीहरू निर्माता कम्पनीका प्रतिनिधि श्री झु सियानसोंगले दिगो र युलेन्स स्कुलका प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

दैनिक यात्रु आवतजावतलाई सहज र भरपर्दो बनाउन डिजाइन गरिएका सीएचटीसी १६-सीटर इलेक्ट्रिक भ्यान ले कम सञ्चालन खर्च, न्यून उत्सर्जन र शान्त यात्राजस्ता इलेक्ट्रिक मोबिलिटीका महत्वपूर्ण लाभ प्रदान गर्छन्।

४० वटा इलेक्ट्रिक भ्यान आफ्नो यातायात फ्लीटमा समावेश गरेर युलेन्स स्कुलले परम्परागत इन्धनमा आधारित गाडीमाथिको निर्भरता घटाउँदै विद्यालय समुदायका लागि आधुनिक, प्रभावकारी र वातावरणमैत्री यातायाततर्फ ठोस कदम चालेको छ।

यस अवसरमा दिगोका ग्रुप सीईओ सौरब श्रेष्ठ भने “युलेन्स स्कुललाई ४० वटा सीएचटीसी १६-सीटर इलेक्ट्रिक भ्यान हस्तान्तरण गर्नु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। युलेन्स स्कुलले हामीमाथि देखाएको विश्वासले इलेक्ट्रिक मोबिलिटी र समग्र ईभी इकोसिस्टम निर्माणमा हामीले गर्दै आएको कामलाई थप पुष्टि गरेको छ। स्वच्छ मोबिलिटीतर्फको उहाँहरूको यात्रामा सहकार्य गर्न पाउँदा हामी गर्वित छौं।”

युलेन्स स्कुलकी प्रधानाध्यापक एकता सिंह राणा भन्छिन्, “यी इलेक्ट्रिक भ्यानहरूको समावेश विद्यालयको यातायात सेवालाई अझ प्रभावकारी र वातावरणप्रति जिम्मेवार बनाउने हाम्रो प्रयासमा महत्वपूर्ण कदम हो। अझ स्वच्छ र दिगो यातायात प्रणालीतर्फ अघि बढ्ने हाम्रो यात्रामा दिगोसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं।”

यो पहलले नेपालमा व्यावसायिक तथा यात्रुवाहक इलेक्ट्रिक गाडीहरूको बढ्दो उपयोगितालाई पनि स्पष्ट गर्छ। सञ्चालन दक्षता र वातावरणीय जिम्मेवारीलाई सँगसँगै अघि बढाउन चाहने विद्यालय, व्यवसाय तथा संस्थाहरूका लागि इलेक्ट्रिक फ्लीट क्रमशः व्यावहारिक र महत्वपूर्ण विकल्प बन्दै गएको छ।

यस हस्तान्तरणसँगै दिगोले नेपाली बजारका दैनिक यातायात आवश्यकताअनुसार भरपर्दो, व्यावहारिक र दिगो इलेक्ट्रिक मोबिलिटी समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

दिगोले कमर्सियल ईभी समाधान, चार्जिङ पूर्वाधार, ईभी रेन्टल फ्लीट, प्रविधिमा आधारित मोबिलिटी सेवा तथा बिक्रीपछिको सेवा र सहयोग मार्फत नेपालमा समग्र ईभी इकोसिस्टम विस्तार गर्दै आएको छ।

युलेन्स स्कुलको फ्लीटमा ४० वटा सीएचटीसी १६-सीटर इलेक्ट्रिक भ्यान थपिनु केवल गाडी हस्तान्तरणमा सीमित छैन; यो नेपालमा अझ स्वच्छ, स्मार्ट र दिगो यातायात भविष्यतर्फको महत्वपूर्ण सहकार्य हो।