साउदी विमानस्थलमा हुथीको भीषण हमला: १२ जनाको मृत्यु, ३०९ घाइते, ५८० बढी उडान रद्द
काठमाडाैं । यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानीस्थित एक विमानस्थलमा गरेको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएकाे छ।
एक साताभित्र यस अन्तर्राष्ट्रिय विमानस्थलमाथि भएको यो तेस्रो आक्रमण हो भने प्रमुख अमेरिकी सहयोगी साउदी अरेबियामाथि विगत १० वर्षयता भएको यो सबैभन्दा घातक आक्रमण हो।
रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त आक्रमणमा चार जना साउदी नागरिक, दुई जना बंगलादेशी नागरिक, तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका १/१ जना नागरिकको मृत्यु भएको राज्यको नागरिक उड्डयन निकायले आइतबार जनाएको छ। साथै यस घटनामा ३०९ जना घाइते भएका छन्।
करिब ८० लाख जनसंख्या भएको यस सहरका सबै उडानहरू डाइभर्ट गरिएका छन् भने विमानस्थलको सेवा पनि अस्थायी रूपमा रोकिएको छ। उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइटराडर२४’ का अनुसार आइतबार अहिलेसम्म करिब ५८० उडानहरू रद्द गरिएको छ।
भिडियोमा टर्मिनलको भुइँभरि ठूला बोर्ड र भग्नावशेषहरू छरिएका देखिएका छन् भने मानिसहरू धुम्लिएको हलभित्र हिँडिरहेका छन्।
अमेरिका, बेलायत, स्पेन र क्यानडा लगायतका देशहरूले आफ्ना नागरिकहरूलाई उक्त विमानस्थल प्रयोग नगर्न चेतावनी दिएका छन्।

















