हिमालयन लाइफको बागडोर कवि फुयाँलको हातमा, वरिष्ठ डीसीईओ पाएसँगै सम्हाले कार्यवाहक सीईओको जिम्मेवारी
हिमालयन लाइफ इन्स्योरेन्सको नेतृत्वमा महत्वपूर्ण फेरबदल हुँदा कवि फुयाँल वरिष्ठ डीसीईओ र कार्यवाहक सीईओको दोहोरो जिम्मेवारीमा आएका छन्।
काठमाडाैँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो उच्च व्यवस्थापनमा नयाँ र महत्वपूर्ण फेरबदल गरेको छ।
कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकले बीमा क्षेत्रका अनुभवी व्यावसायिक व्यक्तित्व कवि फुयाँललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ। यससँगै उनले कम्पनीको साङ्गठनिक संरचनामा बलियो प्रभाव पार्ने संकेत देखिएको छ।
कम्पनीले फुयाँललाई असोज २६ गतेदेखि लागू हुने गरी वरिष्ठ डीसीईओको पदभार सुम्पिएको छ। सोही मितिदेखि नै लागू हुने गरी उनलाई कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी दिइएको छ।
बीमा क्षेत्रमा देखिएको तीव्र प्रतिस्पर्धा र बजारको बदलिँदो परिस्थितिकाबीच हिमालयन लाइफले उनलाई यो अहम् जिम्मेवारी सुम्पेको हो। कम्पनीको आन्तरिक निर्णय अनुसार अर्को औपचारिक व्यवस्था नभएसम्म फुयाँलले नै कार्यवाहक सीईओको रूपमा सम्पूर्ण कार्यकारी नेतृत्व सम्हाल्नेछन्।
यसअघि फुयाँल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। सन नेपाल लाइफको उच्च व्यवस्थापनमा लामो समय सफल कार्यकाल बिताएपछि उनले गत साता मात्रै उक्त संस्थाबाट बाहिरिने निर्णय गरेका थिए।
सन नेपाल लाइफबाट राजीनामा दिएको छोटो समयमै उनी हिमालयन लाइफको उच्च तहमा प्रवेश गरेका हुन्। उनको यो तीव्र पदास्थापन र बीमा क्षेत्रको अनुभवले हिमालयन लाइफको आगामी व्यावसायिक रणनीतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

















