“बिजुलीमा भ्याट र चर्को भन्सार लगाउने सरकारको नीतिले देशलाई अन्धकारतर्फ धकेल्यो”: कुलमान
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारीसाधन र ऊर्जाको प्रयोग अपरिहार्य रहेको बताएका छन्। आज काठमाडौँमा जेलियो ईभी स्कुटरको नयाँ मोडल लञ्च तथा आधिकारिक शोरुमको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यातायात र भान्सालाई पूर्ण रूपमा विद्युतीय बनाउनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै घिसिङले पछिल्लो समय नेपालमा विद्युतीय गाडीहरूको बिक्री तीव्र रूपमा बढेकोमा खुसी व्यक्त गरे। उनले स्कटुर र मोटरसाइकल क्षेत्रमा पनि अब विद्युतीय विकल्प अनिवार्य भइसकेको बताए।
विद्युतीय सवारीसाधनको आर्थिक फाइदाबारे प्रष्ट पार्दै उनले भने, “पेट्रोलको तुलनामा विद्युतीय सवारीसाधन धेरै गुणासम्म सस्तो पर्छ। पेट्रोलबाट चलाउँदा प्रति किलोमिटर २० रुपैयाँभन्दा बढी खर्च लाग्छ भने विद्युतीय स्कूटरमा प्रति किलोमिटर जम्मा २० देखि ३० पैसा मात्र खर्च हुन्छ। यसको सञ्चालन खर्च लगभग शून्य छ।”
आफूले महिनामा जम्मा २५ सय रुपैयाँको बिजुली खपत गरेरै आफ्नो विद्युतीय गाडीबाट दैनिक आवश्यकता पूरा गरिरहेको अनुभव समेत उनले सुनाए।
सरकारको कर नीतिप्रति चर्को असन्तुष्टि
सरकारले हाल विद्युतीय सवारीसाधन र चार्जिङ स्टेसनमाथि लगाएको कर तथा भन्सार शुल्कप्रति घिसिङले कडा आपत्ति जनाएका छन्। उनले चार्जिङ स्टेसनमा १३ प्रतिशत भ्याट र ८० प्रतिशतसम्म पुर्याइएको भन्सार शुल्कले विद्युतीय गाडीको प्रवर्द्धन नभई निरुत्साहन गर्ने बताए।
उनले भने, “हामी आत्मनिर्भर अर्थतन्त्रतर्फ जानुपर्छ भनिरहेका छौँ, तर सरकारले बिजुलीमा भ्याट र ८० प्रतिशतसम्म भन्सार शुल्क लगाएर गलत नीति अँगालेको छ। यसले पेट्रोल, डिजेल र ग्यासको परनिर्भरता घटाउने अभियानलाई कमजोर बनाउँछ।”
वार्षिक चारदेखि पाँच खर्ब रुपैयाँको पेट्रोलियम पदार्थको आयात घटाउन सरकारले विद्युतीय क्षेत्रमा थप सहुलियत दिनुपर्नेमा उनले जोड दिए। पेट्रोल, डिजेल र ग्यासको परनिर्भरता सदाका लागि अन्त्य गर्न घिसिङले इन्डक्सन चुलो, विद्युतीय गाडी र चार्जिङ पूर्वाधारको विकासमा देशलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने आह्वान गरेका छन्।

















