२६ आश्विन २०८३, सोमबार

गरिमा विकास बैंकका शेयरधनीलाई लोभलाग्दो लाभांश, विगत ५ वर्षमा नगद र बोनस कति ?



काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा उत्कृष्ट र भरपर्दो विकास बैंकका रूपमा स्थापित गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांशमार्फत आकर्षक प्रतिफल प्रदान गरेको पाइएको छ। बैंकले आफ्नो निरन्तरको वित्तीय सबलता र मुनाफालाई ध्यानमा राख्दै सेयरधनीहरूलाई हरेक वर्ष बोनस सेयर र नगद लाभांशको सन्तुलित मिश्रण प्रदान गर्दै आएको हो।

सोमबार बैंकको २०औँ वार्षिक साधारणसभा कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा भव्य रूपमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

लाभांश पारित भएसँगै बैंकको हाल कायम ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ पुग्ने भएको छ।

लगानीकर्ताको रोजाइमा गरिमा विकास बैंक

विकास बैंक समूहमा लगानीकर्ताहरूका लागि गरिमा विकास बैंक सधैँ भरपर्दो र आकर्षक गन्तव्य रहँदै आएको छ। बैंकको पछिल्ला पाँच वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने पनि सेयरधनीहरूप्रति बैंकको प्रतिबद्धता स्पष्ट देखिन्छ। बैंकले कहिले बोनस सेयरलाई प्राथमिकता दिँदै चुक्ता पूँजी वृद्धि गरेको छ भने कहिले नगद लाभांशमार्फत लगानीकर्ताको हात खाली हुन दिएको छैन।

विगत ५ वर्षमा नगद र बोनस कति ?

आर्थिक वर्षबोनस सेयर (%)नगद लाभांश (%)कुल लाभांश (%)
२०७८/७९१३.००%१.५०%१४.५०%
२०७९/८०९.५०%०.५०%१०.००%
२०८०/८१०.००%५.००%५.००%
२०८१/८२६.००%४.५३%१०.५३%
२०८२/८३१०.००%१०.००%२०.००%

गरिमा विकास बैंकको ५ वर्षको इतिहास हेर्दा, आर्थिक वर्ष २०७८/७९ मा बैंकले १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश दिएको थियो। यस्तै, आव २०७९/८० मा ९.५० प्रतिशत बोनस र ०.५० प्रतिशत नगदसहित १० प्रतिशत तथा आव २०८०/८१ मा ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रदान गरेको थियो।

यस वर्ष (आव २०८२/८३) बैंकले लाभांश दरमा उल्लेख्य वृद्धि गर्दै कुल २० प्रतिशत लाभांश (१०% बोनस र १०% नगद) पारित गरेपछि लगानीकर्तामा उत्साह थपिएको छ।

आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय, ५१ वटा एटीएम र अत्याधुनिक डिजिटल बैंकिङमार्फत आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

चालु आर्थिक वर्षमा बोनस र नगद लाभांशको सन्तुलित मिश्रण पारित गरेसँगै बैंकको वित्तीय स्थिति थप सुदृढ बनेको छ भने बजारमा लगानीकर्ताको विश्वास अझ प्रगाढ बनेको देखिन्छ।