४ कार्तिक २०८३, बुधबार

देशभर उल्लासका साथ आज विजयादशमी मनाइँदै, १०:२६ बजे टीकाको उत्तम साइत



असत्यमाथि सत्यको विजयका रूपमा लिइने बडादशैँको मुख्य दिन आज देशभर मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा थापेर हर्षोल्लासपूर्वक विजयादशमी मनाइँदै छ।

काठमाडौँ । शरद ऋतुको मनमोहक मौसमसँगै नीलो आकाशमा उडिरहेका चङ्गा, आँगनमा हालिएका पिङ अनि घरघरमा पाकेका परिकारको बास्नासँगै नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ।

शहरबाट गाउँघर फर्केका आफन्तजनको भेला र खुसीले यतिबेला मुलुकभर छुट्टै रौनक छाएको छ।

असोज शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनदेखि सुरु भएको यो पर्व दशमीका दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजेको साइतमा टीका लगाउनु सबैभन्दा उत्तम रहेको छ। यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले साइत नै पर्खिनुपर्ने बाध्यता नरहेको र आज दिनभर नै टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ।

टीका लगाउँदा लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किने र लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्कने सामान्य प्रचलन छ । यस वर्ष पनि साेही दिशा अपनाउन पञ्चाङ्गकारहरूले भनेका छन् ।

आज टीका लगाउन नभ्याउने वा टाढा रहेका आफन्तहरूले कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद लिन सक्ने परम्परा छ।

दसैँ घर वा पूजाकोठामा नौ दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वतीका साथै नवदुर्गाको विशेष पूजाआजा गरी उमारिएको समृद्धिको प्रतीक पहेँलो जमरा अनि दही, अक्षता र रातो अबिरको समिश्रणबाट तयार पारिएको टीका निधारमा लगाएर आशीर्वाद लिने गरिन्छ। केही समुदायमा भने सेतो अक्षताको टीका लगाउने प्रचलन पनि छ। धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले रातो र सेतो टीकालाई शान्ति, समृद्धि र चेतनाको प्रतीक मानिन्छ।

विजयादशमीका दिन पुरुष तथा महिलालाई मान्यजनले टीका लगाइदिँदा फरक-फरक पौराणिक मन्त्र पढेर आशीर्वाद दिने वैदिक परम्परा रहेको छ।

पुरुषहरूलाई टीका लगाइदिँदा निम्नलिखित मन्त्रबाट आशीर्वाद दिइन्छ:

आयुर्द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यस मन्त्रको अर्थ द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो दीर्घायु, राजा दशरथको जस्तो श्री (सम्पत्ति), रामको जस्तो शत्रु नाश, राजा नहुषको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो सम्मान, पितामह भीष्मको जस्तो वीरता, बलरामको जस्तो बल, कुन्तीपुत्र कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान-विज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्ने हुन्छ।

महिलाहरूलाई भने शक्तिरूपा दुर्गा देवीको स्वरूप मानेर यो मन्त्रले आशीर्वाद दिइन्छ:

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

धार्मिक विश्वास अनुसार सत्य युगमा महामाया देवी दुर्गाले महिषासुर नामक दैत्यको वध गरी देवलोक र मानवलोकलाई आसुरी त्रासबाट मुक्ति दिलाएको सन्दर्भ पनि यस पर्वसँग जोडिएको छ। त्यसैले यसलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।

पारिवारिक मिलन, सामिप्यता र सौहार्दता बढाउने यस पर्वमा मूलखाँबो पूजा गरी घरका उमेरज्येष्ठ मान्यजनबाट क्रमशः साना सदस्यहरूले टीका, जमरा, दक्षिणा र आशीर्वाद थाप्ने गर्छन्। उमेर पुगेका पाका मानिसहरू आफ्ना ठूलाबडा, जीवनसङ्गी वा दाजुभाइकोमा गएर टीका लगाउने गर्छन्।

बालबालिकाहरू नयाँ कपडामा सजिएर बास्नादार नोटहरू हातमा लिएर मामाघर, सुसुराली वा ठूलाबाकोमा जाने दृश्यले नेपाली समाजको सामिप्यता दर्शाउँछ।

सांस्कृतिक पाटोबाहेक दसैँका आफ्नै व्यावहारिक र सामाजिक आयामहरू पनि छन्। घटस्थापनाका दिन अँध्यारो ठाउँमा शुद्ध माटोमा जौ छरेर उमारिने जमरा केवल धार्मिक प्रतीक मात्र नभई कार्बोहाइड्रेट, प्रोटिन र भिटामिनयुक्त स्वास्थ्यवर्द्धक औषधि पनि मानिन्छ।

दसैँमा एक पटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यताका कारण हालिने लिङ्गे पिङले मीठो-मसिनो खानेकुरा पचाउन शारीरिक व्यायामको काम गर्छ। खेतीबालीका लागि पानी पर्याप्त भयो भन्ने सन्दर्भ इन्द्रसम्म पुर्‍याउन वा वर्षा ऋतु समाप्तिको खुसीयाली मनाउन उडाइने चङ्गाले मानिसहरूमा मनोरञ्जन र उमङ्ग भर्ने गर्छ।

बडादसैँ परापूर्वकालदेखि चल्दै आएको धार्मिक, सामाजिक र सांस्कृतिक धरोहर भए पनि वर्तमान आधुनिकतामा यसलाई तडकभडकभन्दा टाढा राखी आफ्नै क्षमता अनुसार मनाउनुपर्ने विश्लेषकहरू बताउँछन्। आवश्यकताभन्दा बढी ढोँग र खर्च गर्दा दसैँले ‘दशा’ निम्त्याउने खतरा हुने भएकाले पारिवारिक खुसी र सद्भावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।