२७ आश्विन २०८३, मंगलबार

विश्व बैंक र मुद्रा कोषको संयुक्त बैठकमा भाग लिन आज थाइल्याण्ड जाँदै अर्थमन्त्री वाग्ले



काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गर्दै छन्।

अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। विश्वभरका अर्थमन्त्रीहरूको सहभागिता रहने उक्त महत्वपूर्ण बैठकमा अर्थमन्त्री डा. वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलहरूमा सहभागिता जनाउनेछन्।

ब्याङ्कक भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेको टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराईसमेत सहभागी हुनेछन्।

सबै बैठक र औपचारिक कार्यक्रमहरू सम्पन्न गरी अर्थमन्त्री डा. वाग्ले आगामी कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।