२७ आश्विन २०८३, मंगलबार

आफ्ना कर्मचारीलाई दशैँमा रक्सी नबाँड्न बीमा प्राधिकरणकाे उर्दी



काठमाडाैँ । नेपाल बीमा प्राधिकरणले आफ्ना पदाधिकारी र कर्मचारीलाई बडा दशैँमा मदिरा उपहार नपठाउन सबै बीमा कम्पनीहरूलाई माैखिक निर्देशन दिएकाे छ ।

प्राधिकरणले संघीय सरकारकाे रबैया कठाेर भएकाे र यस्ता “उपहारहरूकाे लेनदेनमा सरकारले गुप्त अनुसन्धान थालेकाे” भन्दै कम्पनीहरूलाई यस प्रकारकाे अनाैपचारिक निर्देशन दिइएकाे हाे ।

नियामक निकायहरूमा वर्षाैँ वा दशकाैँदेखि विभिन्न किसिमका मदिराकाे उपहार दिने चलन नै चल्दै आएको थियाे । यस्ता मदिरा उपहारहरू नेपाल राष्ट्र बैंकमा अझ ज्यादा पुग्ने गरेकाे बताइन्थ्याे । केही वर्ष अघि राष्ट्र बैंककाे विदेशी विनिमय व्यवस्थापन विभागका एक कर्मचारीले ५०० बाेत्तलभन्दा बढी मदिरा दशैँ पश्चात् बजारमा विक्री गरेकाे खबरहरू बाहिरिएका थिए ।

नेपाल बीमा प्राधिकरणा, नेपाल धिताेपत्र बाेर्ड जस्ता वित्तीय क्षेत्रका नियामक निकायमा मदिरा उपहार सामान्य थियाे । वित्तीय क्षेत्रमा मात्रै हाेइन, सबै खाले सरकारी अड्डामा, जहाँ व्यावसायिक स्वार्थ वा निर्णय प्रकृयामा प्रत्यक्ष सहभागी हुने अड्डाका मुख्य पात्रहरूले मदिरा उपहार पाउने गरेका छन् ।

बीमा क्षेत्रकाे मात्रै कुरा गर्दा पनि एउटा कम्पनीले दशैँमा मदिरा उपहार बाँड्नकै लागि वार्षिक २ लाखदेखि ५ लाख रूपैयाँ खर्च गर्ने गरेकाे एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अर्थपथसँग बताए । कम्पनीकाे स्वार्थ जाेडिने महाशाखा, शाखा, कार्यालयका कर्मचारीलाई मदिरा उपहार पठाउने गरेका थिए ।

बीमा क्षेत्रका उच्च अधिकारीहरूका अनुसार विगतमा प्राधिकरणकाे सञ्चालक समितिका पदाधिकारी, कार्यकारी निर्देशक, निर्देशक र उपनिर्देशकसम्म ४ तहमा रक्सी वितरण हुँने गरेकाे थियाे । उपहार पाउने व्यक्ति, उसकाे दर्जा र दिने व्यक्ति वा कम्पनीसँग उसकाे सम्बन्धका आधारमा मदिराकाे गुणवत्ता, प्रकृति, ब्राण्ड र मूल्य निर्धारण हुने गरेकाे ती बीमक बताउँछन् ।

“माथिमाथिका पदमा हुनेहरू सबैलाइ र तल्ला तहका कर्मचारीमा आफूलाइ कसकसकाे जरूरी पर्छ, उनीहरूलाइ उपहार दिने चलन हाे । हैसियत र व्यक्तिगत निजी सम्बन्धका आधारमा पनि कतिपयलाइ दिनुपर्ने हुन्थ्याे”, ती अधिकारीले भने ।

तर अब यस वर्ष संघीय सरकारकाे अनुगमन प्रणालि ज्यादा सक्रीय भएकाे र सरकारले यस्ता उपहारप्रति असहिष्णु भाव राखेकाे भनेर माैखिक रूपमा उपहार नबाँड्न आह्वान गरिएकाे हाे । प्राधिकरणाका उच्च व्यवस्थापनकीय पदाधिकारीले नै धमाधम बीमा कम्पनीका कार्यकारी प्रमुखहरूलाइ ह्वाट्सएपमा फाेन गर्दै “रक्सी नबाँड्न” आग्रह गरिरहेकाे उनीहरूले बताए ।

बीमा प्राधिकरणकाे याे कदमले राष्ट्र बैंक र अरू सरकारी अड्डाहरूमा पनि रक्सी उपहारकाे संस्कार बदलिन सक्ने संभावना बढेकाे छ ।