२७ आश्विन २०८३, मंगलबार

नेप्से ४.१२ अंकले बढ्यो, साढे ४ अर्ब बढीको शेयर कारोबार



काठमाडौँ। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। लगातार तीन कारोबार दिनदेखि बढिरहेको बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो।

यस दिन नेप्से परिसूचक ४.१२ अंकले उकालो लाग्दै २,५९९.९३ विन्दुमा बन्द भएको छ। बजार परिसूचकसँगै मंगलबार शेयर कारोबारको रकममा पनि वृद्धि भएको छ। आज १ करोड ३५ लाख ५३ हजार कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाखमा खरिद बिक्री भएको छ।

मंगलबार सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै मूल्यवृद्धि अनुभव गरेका छन्। कम्पनीको शेयरमूल्य १२.४४ प्रतिशतले बढेको छ। अन्य कम्पनीको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कममा सीमित रह्यो।

यसको विपरीत, स्नो रिभर्सको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा झरेको छ। कम्पनीको शेयर प्रतिकित्ता १४९ रुपैयाँ ९० पैसाले घटेर ८४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको हो। धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि करिब १३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो मंगलबार पहिलो स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये मंगलबार पाँचवटाको परिसूचक बढेको छ भने आठवटामा गिरावट आएको छ। यस दिन जीवन बीमा उपसमूह सबैभन्दा बढी १.७७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ, विकास बैंक, लगानी तथा निर्जीवन बीमा उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ। बाँकी आठ उपसमूहका परिसूचक भने घटेर बन्द भएका छन्।

समग्रमा मंगलबार शेयर बजारमा सामान्य वृद्धि देखिए पनि सबै उपसमूहमा भने सुधार आउन सकेन। कारोबार रकम बढ्नुका साथै कम्पनीगत शेयरमूल्यमा मिश्रित उतारचढाव देखिएको छ।