बन्दीपुर केवलकारको लोअर स्टेसनमा ९ दिने ‘बन्दीपुर फेस्ट’ आयोजना हुँदै
काठमाडौँ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड ‘बन्दीपुरहिल’ले दशैँ–तिहारको बिदाको अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ। महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षणहरू समावेश हुनेछन्।
बन्दीपुर केवलकारको लोअर स्टेसनमा ९ दिनसम्म सञ्चालन हुने फुड फेस्टिभलमा स्थानीय परिकार, रमाइला खेल तथा सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै बालबालिका तथा परिवारका लागि विशेष गतिविधि र किड्स जोनका साथै केवलकार, जिपलाइन, स्काई साइकलिङ लगायतका विभिन्न साहसिक अनुभव तथा गतिविधिहरू समेत समावेश गरिएका छन्।
दुई चरणमा आयोजना हुने यो महोत्सवको पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि कात्तिक १० गतेसम्म बन्दीपुर केवलकार लोअर स्टेसनमा सञ्चालन हुनेछ। दशैँ-तिहार अभियान अन्तर्गत बन्दीपुरहिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारहरूमार्फत प्रवर्द्धनात्मक कुपनसमेत वितरण गर्ने जनाएको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजमका मार्केटिङ म्यानेजर विभु गौतमका अनुसार बन्दीपुरहिललाई नेपालको एक प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ यो महोत्सव आयोजना गरिएको हो। उनले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारहरूलाई बन्दीपुरको संस्कृति, स्वाद र साहसिक अनुभवसँग जोड्न यस फेस्टले उत्कृष्ट उत्सवमय वातावरण प्रदान गर्ने बताए।
त्यसैगरी, कार्यक्रम संयोजक सुरज राईले दुवै चरणका कार्यक्रम बन्दीपुरहिलको लोअर स्टेसनमा हुने जानकारी दिँदै यो महोत्सव सबैका लागि पूर्ण रूपमा खुला र प्रवेश निःशुल्क रहने बताए। उनले स्थानीय बासिन्दा तथा आगन्तुक सबैलाई उत्सवमय वातावरणमा स्वागत गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेको स्पष्ट पारे।

















