नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने प्रक्षेपण, कुन क्षेत्रकाे याेगदान कति ?
काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ४.०० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो।
विद्युत उत्पादन, प्रसारण तथा वितरण, निक्षेप सङ्कलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, आवास तथा भोजन सेवा लगायतका क्रियाकलापमा भएको वृद्धिका कारण अर्थतन्त्र विस्तारमा योगदान पुगेको हो।
अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा सबैभन्दा धेरै वृद्धि विद्युत, ग्यास, बाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा देखिएको छ, जसको वृद्धिदर सर्वाधिक २४.३६ प्रतिशत पुगेको छ।

यस्तै वित्तीय तथा बिमा क्षेत्रले ९.०७ प्रतिशत, आवास तथा भोजन सेवा क्षेत्रले ७.८४ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रले ७.६६ प्रतिशत तथा यातायात र भण्डारण क्षेत्रले ६.८१ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेका छन्।
अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगट्ने थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादन र आयात दुवैमा बढोत्तरी हुँदा यस क्षेत्रको मूल्य अभिवृद्धि ५.९७ प्रतिशतले विस्तार भएको छ।
यसैगरी प्रशासनिक तथा सहयोगी सेवामा ५.५५ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यमा ४.७० प्रतिशत, अन्य सेवा क्षेत्रमा ३.८२ प्रतिशत, खानी तथा उत्खननमा ३.३४ प्रतिशत, पेसागत, वैज्ञानिक तथा प्राविधिक सेवामा ३.१९ प्रतिशत र घरजग्गा कारोबारमा २.६८ प्रतिशतको वृद्धि देखिएको छ।
त्यस्तै निर्माण क्षेत्र २.३८ प्रतिशत, औद्योगिक उत्पादन १.४४ प्रतिशत, पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन १.४३ प्रतिशत र शिक्षा क्षेत्र १.३२ प्रतिशतले बढेका छन्।
अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने कृषि, वन तथा मत्स्य क्षेत्रमा भने कृषि तथा वन पैदावारको उत्पादन सामान्य रहेकाले यसको वृद्धिदर १.३५ प्रतिशतमा सीमित रहन पुगेकाे छ।
यस अवधिमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर भने शून्य दशमलव १२ प्रतिशतले ऋणात्मक रहन पुगेको छ। अघिल्लो वर्षको तुलनामा सरकारी खर्चमा भएको कमीका कारण यस क्षेत्रमा संकुचन आएको हो।

अर्कोतर्फ, मौसमी प्रभाव समायोजन गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघ, फागुन र चैत) सँग चौथो त्रैमासको तुलना गर्दा पनि १८ मध्ये १७ क्षेत्र बढेका छन् भने औद्योगिक उत्पादन क्षेत्र ऋणात्मक देखिएको छ।
अघिल्लो त्रैमासको तुलनामा आवास तथा भोजन सेवा क्षेत्रमा सबैभन्दा बढी ६.०५ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै विद्युत तथा ग्यासमा ३.७६ प्रतिशत, खानी तथा उत्खननमा ३.२२ प्रतिशत, शिक्षामा ३.०७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २.९० प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षामा २.२१ प्रतिशत, वित्तीय तथा बिमामा २.१० प्रतिशत एवं अन्य सेवामा २.०० प्रतिशतको बढोत्तरी भएको छ।
त्यसैगरी प्रशासनिक सेवा १.५९ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्य १.१२ प्रतिशत, कृषि क्षेत्र १.०८ प्रतिशत, यातायात तथा भण्डारण ०.७३ प्रतिशत, पेसागत तथा प्राविधिक सेवा ०.६२ प्रतिशत, घरजग्गा कारोबार ०.६० प्रतिशत, निर्माण ०.२९ प्रतिशत, पानी आपूर्ति ०.२४ प्रतिशत र सूचना तथा सञ्चार ०.०७ प्रतिशतले विस्तार भएका छन् भने औद्योगिक उत्पादन क्षेत्र शून्य दशमलव ४८ प्रतिशतले ऋणात्मक बनेको छ।
स्थिर आधारभूत मूल्य अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा कुल गार्हस्थ्य उत्पादनको आकार ६ खर्ब ७१ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबर पुगेको छ। यसै वर्षको पहिलो त्रैमासमा ५ खर्ब ९३ अर्ब ३५ करोड, दोस्रो त्रैमासमा ६ खर्ब ८२ अर्ब ७१ करोड र तेस्रो त्रैमासमा ६ खर्ब २८ अर्ब ९६ करोड रुपैयाँ बराबरको उत्पादन भएको थियो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा भने यस्तो आकार ६ खर्ब ४५ अर्ब ४७ करोड ६० लाख रुपैयाँ रहेको थियो।



















