आज पनि महाअष्टमी पर्व मनाइँदै: हिजोकै विधि, पूजा र कर्म दोहोर्याउन पञ्चाङ्ग निर्णायक विकास समितिकाे सुझाव
काठमाडाैं । आज पनि महाअष्टमी पर्व मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको नवरात्रमा तिथि वृद्धि भएको कारण दुई दिन महाअष्टमी पर्व परेकोले हिजो जस्तै आज पनि महाअष्टमीको कर्म दोहोर्याउनुपर्ने बताएको छ।
यस वर्ष आश्विन शुक्ल अष्टमी तिथि कात्तिक १ गते आइतबार बिहान ८:४२ बजे सुरु भएर कात्तिक २ गते सोमबार बिहान ११:०६ बजेसम्म कायम रह्यो। यसरी अष्टमी तिथिले लगातार दुई दिनको सूर्योदयलाई छोएको अर्थात् तिथि वृद्धि भएको हुनाले दुई अष्टमी मनाइँदै छ।
समितिले स्वीकृत गरेको पात्रो अनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको छ। यस सम्बन्धमा वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख तथा समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको पूजा तथा कर्म २ गते पनि दशैँघर वा पूजाकोठामा निरन्तरता दिनुपर्नेछ।
कात्तिक २ गते तिथिका हिसाबले नवरात्रको नवौँ दिन भए पनि शास्त्रीय मान्यता अनुसार कर्म भने अष्टमीकै दिनको गर्नुपर्ने हुन्छ। तसर्थ, आज पनि दशैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा-आराधना गर्नुपर्नेछ।
समितिको पात्रो अनुसार आश्विन शुक्ल अष्टमीको राति विशेष रूपमा गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै सम्पन्न भइसकेको छ।
विजयादशमीको दिन टीका लगाउँदा १० रात ९ दिनको सट्टा १० रात्रिकै जमरा प्रयोग गरिनेछ। देवीको साधना, पूजा र आराधना गर्ने अवसर एक दिन बढेर आउनु सकारात्मक पक्ष भएको र यसले कुनै भिन्नता नपार्ने धर्मशास्त्रविद्हरूको ठहर छ।















