२० कार्तिक २०८३, शुक्रबार

पर्यावरणमैत्री र अत्याधुनिक प्रविधिसहित ग्लोबल आइएमई बैंकले बनाउँदैछ उत्तरढोकामा १२ तले कर्पोरेट भवन



काठमाडौँ। काठमाडौँको उत्तरढोकामा ग्लोबल आइएमई बैंककाे अत्याधुनिक कर्पोरेट भवन निर्माण हुने भएकाे छ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले फेसबुकमार्फत केही तस्विरहरू सार्वजनिक गर्दै कर्पोरेट भवन निर्माणका लागि विधिवत् रूपमा भूमिपूजा सम्पन्न भएको जानकारी दिएका हुन्।

निर्माण हुन लागेको उक्त १२ तले आधुनिक संरचना करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ। जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको छ ।

यो भव्य संरचना केवल एउटा प्रशासनिक भवन मात्र नभई संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र भविष्यको समृद्ध दृष्टिको प्रतीक हुने अध्यक्ष ढकालले बताएका छन्।

नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौँ उपत्यकाको एउटा नमूना (आइकन) भवन बन्ने भन्दै अध्यक्ष ढकालले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताए ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताए। उनले भवनलाई पूर्णतः ऊर्जा बचत गर्ने शैलीमा ढाल्न लागिएको, पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिने र यसबाट प्राकृतिक स्रोतको सही उपयोग हुनुका साथै वातावरणीय सन्तुलनमा पनि सघाउ पुग्ने बैंकको विश्वास रहेको बताए ।

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

नयाँ बन्ने यस भवनमा नवीनतम इन्जिनियरिङ प्रविधिसँगै वातावरणीय दिगोपनलाई उच्च प्राथमिकता दिइनेछ। जमिनको स्थिरता र सुरक्षाका लागि ‘सेक्यान्ट पाइलिङ’ प्रविधिको प्रयोग गरिनुका साथै वर्षाको पानी पुनःप्रयोग (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणाली जडान गरी यसलाई पूर्ण रूपमा ऊर्जा-दक्ष र पर्यावरणमैत्री बनाइनेछ।

साथै, सेवाग्राही र कर्मचारीहरूको सहजताका लागि दुई तहको फराकिलो भूमिगत पार्किङको समेत व्यवस्था गरिएको छ। मुलुकका ७७ वटै जिल्लामा वित्तीय पहुँच पुर्‍याएको ग्लोबल आइएमई बैंकको यो नयाँ पूर्वाधारले वित्तीय सेवाहरूलाई अझ बढी सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै देशको समग्र आर्थिक विकासमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।