२० कार्तिक २०८३, शुक्रबार

कृषि यान्त्रीकरणको प्रवर्द्धन गर्न आठौँ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै, २० देशका प्रविधि भृकुटीमण्डपमा



काठमाडाैं । नेपालमा कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने भएको छ।

‘कृषिमा यन्त्र र प्रविधि: कृषक र राष्ट्रको समृद्धि’ मूल नारासहित आयोजना हुने तीनदिने प्रदर्शनीमा करिब ७० प्रदर्शकको सहभागिता रहनेछ भने १५० भन्दा बढी स्टलमार्फत २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ।

प्रदर्शनीमा स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको छ। त्यस्तै, ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ कम्पनीलाई स्टलमा ६० प्रतिशत छुट, नेपाल कृषि मेशिनरी व्यवसायी संघका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, पोस्ट हार्भेस्ट, प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण र प्रविधिका सामग्री प्रदर्शन गरिनेछ। साथै, बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक तथा विक्रेताको सहभागिता रहनेछ।

प्रदर्शनीको आयोजकमा नेपाल सरकार, संघीय कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विभाग मातहतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA) रहेका छन्। बागमती प्रदेश सरकार, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, हेटौँडा र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) सहआयोजकका रूपमा रहेका छन्।
प्रदर्शनीको मुख्य प्रायोजकका रूपमा एसकेटी नेपाल प्रा. लि. रहेको छ भने एसोसिएट पार्टनरका रूपमा युरोपेली युनियन (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को संयुक्त आर्थिक सहयोगमा GIZ द्वारा सञ्चालित GRAPE 2 परियोजना रहेको छ। प्लाटिनम प्रायोजकका रूपमा जी. सेभेन एग्रिकल्चर प्रा. लि., शालोम एग्रिकल्चर प्रा. लि., नेपाल ट्रेड होस्ट प्रा. लि. र बीडी कमर्सियल इक्विपमेन्ट प्रा. लि. रहेका छन्। त्यसैगरी, गोल्ड प्रायोजकका रूपमा पशुपति एग्रो ट्रेडर्स, विन्ध्यवासिनी कृषि कम्पनी प्रा. लि. र जैन इरिगेसन सिस्टम्स लिमिटेड रहेका छन्।

प्रदर्शनीलाई राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, सिमिट नेपाल, कृषि विकास बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रा. लि., उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल कृषि इन्जिनियर्स सोसाइटी, नख्खु सिड्स प्रा. लि. र हेल्भेटास नेपालले सहयोग गरेका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रदर्शनीको प्रवर्द्धकका रूपमा रहेको छ।

नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यावसायिकीकरण गर्न टेवा पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो। एउटै स्थानमा विभिन्न आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, सिँचाइ, कोल्ड स्टोर, पोस्ट हार्भेस्ट तथा प्रशोधनका यन्त्र र उपकरण, तरकारीखेती, पुष्पखेती, नर्सरीसम्बन्धी प्रविधि एवं बीउबिजनका साथै कृषि तथा पशुपन्छीसम्बन्धी सेवाबारे जानकारी उपलब्ध गराउनु प्रदर्शनीको प्रमुख उद्देश्य रहेको छ।

प्रदर्शनीमार्फत उपभोक्ता तथा नीतिनिर्मातालाई कृषि यान्त्रिकीकरणसम्बन्धी नवीनतम प्रविधिबारे जानकारी गराउने, कृषि यन्त्र तथा उपकरणको प्रचारप्रसारमा वृद्धि गरी कृषि यान्त्रिकीकरण प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ। साथै, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्‍याउने र कृषि यान्त्रीकरण व्यवसायी तथा उपभोक्ताबीच समन्वय गर्ने उद्देश्य पनि प्रदर्शनीले लिएको छ। प्रदर्शनीका लागि स्टल बुकिङ भइसकेकाे छ भने हामी अन्तिम तयारीमा लागिरहेका छाैँ ।

व्यावसायिक कृषि प्रणालीसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै लगानीका अवसर सिर्जना गर्ने र कृषि यन्त्र तथा प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीतिनिर्माता, कृषि विज्ञ र कृषकबीच समन्वय तथा सहकार्यको वातावरण सिर्जना गर्नसमेत प्रदर्शनीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा कृषि यन्त्र तथा उपकरणका उत्पादक, उद्यमी, आयातकर्ता, वितरक, डिलर, सबडिलर तथा अन्य व्यवसायीको सहभागिता रहनेछ। करिब ७० प्रदर्शकको सहभागिता। १५० भन्दा बढी स्टल रहने छन् भने करिब २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधिको प्रदर्शनमा सहभागी हुनेछन् । स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधिका उत्पादक र व्यवसायीको सहभागिता हुनेछ भने कृषि, पशुपन्छीपालन, मत्स्यपालन, सिँचाइ, कोल्ड स्टोर, पोस्ट हार्भेस्ट तथा प्रशोधन प्रविधिको प्रदर्शनी रहनेछ । कृषि यान्त्रिकीकरणसम्बन्धी विषयमा स्वदेशी तथा विदेशी विज्ञबाट प्रस्तुतिकाे कार्यक्रम रहेको छ भने यस मेला अवधिमा कृषि यान्त्रिकीकरणसम्बन्धी प्यानल छलफल तथा नीतिगत संवादका कार्यक्रम चल्नेछन् ।

प्रदर्शनीमा कृषि औजार तथा उपकरणका उत्पादक, उद्यमी, आयातकर्ता, वितरक, डिलर, सबडिलर तथा अन्य व्यवसायी, सरकारी तथा गैरसरकारी संघसंस्था,शैक्षिक संस्थाहरू, अनुसन्धानमूलक संस्थाहरू, कृषक समूह तथा सहकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूका लागि महत्वपूर्ण हुने विश्वास लिएका छौ। सर्वसाधारण नागरिक, कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाहरू, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरू, उद्यमी तथा व्यवसायीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू र नीतिनिर्मातासमेतका लागि प्रदर्शनी फलदायी हुनेछ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह साथै सहयोगी निकायहरूबाट मेला प्रवर्धनका लागि महत्वपूर्ण याेगदान भइरहको प्रति पनि नामियाले आभार व्यक्त गरेकाे छ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (NAMEA) नेपालमा कृषि यान्त्रीकरण तथा प्रविधिसम्बन्धी व्यवसाय गर्दै आएका व्यवसायीलाई समेटी नेपालको कृषि यान्त्रिकीकरण प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले वि.सं. २०७१ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनीतिक सामाजिक संस्था हो।

कृषकलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले नेपाल सरकारको कृषि विभागअन्तर्गत तत्कालीन कृषि इन्जिनियरिङ निर्देशनालयले पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७० चितवनको भरतपुरमा आयोजना गरेको थियो। उक्त प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएपछि कृषि यान्त्रीकरण प्रदर्शनीलाई निरन्तरता दिइएको हो।

नेपाल सरकारका विभिन्न निकाय र NAMEA को संयुक्त सहकार्यमा हालसम्म पाँचपटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एकपटक प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी तथा एकपटक अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी सम्पन्न भइसकेका छन्।