एसियन लाइफको नाफा १६ करोड नाघ्यो, बीमाशुल्क आर्जनमा २२ प्रतिशतले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नाफा र व्यवसाय विस्तार दुवै सूचकमा उत्साहजनक प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न कम्पनी सफल भएको हो।
अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा १५ करोड २५ लाख रुपैयाँमा सीमित रहेको थियो, जुन गत वर्षको तुलनामा यस वर्ष ५.७९ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको मुख्य व्यवसाय मानिने बीमाशुल्क संकलनमा पनि उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्षको प्रथम तीन महिना अर्थात् साउनदेखि असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
यसैगरी, पुनर्बीमा लगायतका खर्च कट्टा गरेपछि कायम हुने खुद बीमाशुल्क आर्जनमा समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गर्न सफल भएको वित्तीय विवरणमा उल्लेख छ ।
व्यवसाय विस्तारको अनुपातमा कम्पनीले आफ्नो वित्तीय आधार तथा कोषहरूलाई पनि थप सुदृढ बनाउँदै लगेको देखिन्छ। कम्पनीको जीवन बीमा कोष १२.३९ प्रतिशतले वृद्धि भई ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कोष ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको थियो।
त्यसैगरी, कम्पनीको जगेडा तथा सञ्चित कोषमा पनि सुधार देखिएको छ। विपत्ति कोष ४.९१ प्रतिशतले बढेर ३४ करोड ५० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २७.२६ प्रतिशतले वृद्धि भई ६७ करोड ३ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्षको ११ रुपैयाँ ६२ पैसाबाट बढेर १२ रुपैयाँ २९ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको छ।















