एउटा परेवा साढे २२ करोड रुपैयामा बिक्रि
काठमाडौं । बेल्जियमको एउटा रेसिङ परेवा (परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा) १६ लाख युरो अर्थात २२ करोड ५८ लाख २४ हजार रुपैयाँमा बिक्री भएपछि नयाँ कीर्तिमान् बनेको छ ।
न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो । तर त्यसलाई चीनका एकजना खरिदकर्ताले आइतवार हालसम्मकै उच्च रकममा खरिद गरेका हुन् । त्यो परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार उक्त समाचारले आश्चर्यचकित भएको रोयटर्स समाचार संस्थाले जनाएको छ । यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवा बिक्रीमा कीर्तिमान् राखेको थियो । त्यो परेवा १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो ।
पहिलेको कीर्तिमान्
अर्मान्डो नामको उक्त च्याम्पियन रेसर परेवालाई फर्मुला वानका विश्व च्याम्पियन लुइस ह्यामिल्टनूको नाम जोडेर परेवाहरूको लुइस ह्यामिल्टनू भन्ने गरिन्थ्यो। सन् २०१९ मा बिक्रीका लागि राख्दा उक्त परेवा पहिले नै निवृत्त भइसकेको थियो र कैयौँ चल्लाहरूको पिता बनिसकेको थियो ।
न्यू किमले सन् २०१८ मा राष्ट्रिय मध्यम दूरी रेससहित कैयौँ प्रतिस्पर्धाहरू जितेको थियो। तर त्यसपछि उ निवृत्त भएको थियो। अर्मान्डोकै जस्तो न्यू किमलाई पनि दुईजना चिनियाँ खरिदकर्ता बीचको बोलकबोल युद्धपश्चात् एकजनाले किनिएको हो। चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ।
प्रयोग
रेसिङमा प्रयोग गरिएका परेवाले पनि उनीहरू १० वर्षको हुँदासम्म चल्ला पार्न सक्छन् । न्यू किमका नयाँ मालिकले पनि उसलाई बच्चा जन्माउनका लागि प्रयोग गर्ने ठानिएको छ । तर लिलामीकर्ताले चाहिँ त्यसले बिक्री अझ असामान्य हुन गएको बताए ।
लिलामी केन्द्र पिपाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत निकोलास गाइजलब्रेक्टले रोयटर्सलाई भनेका छन्, यो कीर्तिमानी मूल्य विश्वासै गर्न नसकिने खालको छ किनकि यो परेवा पोथी हो। सामान्यतयास् पोथीभन्दा भालेको धेरै मूल्य हुन्छ किनभने भालेले धेरै वंश विस्तार गर्न सक्छ। उनका अनुसार बेल्जियम लामो समयदेखि परेवा प्रेमीको घर बनेको छ । त्यहाँ २० हजार परेवा प्रजनन् गराउनेहरू छन्। बीबीसी



















