७ मंसिर २०८३, सोमबार

राजीनामाको केही दिनमै जेन्सेन हुआङ एनभिडियाको नेतृत्वमा फर्किए, सेयर ३१% उक्लियो



विवादास्पद बाह्य सम्बन्धको खुलासापछि पद छाडेका जेन्सेन हुआङ पुनः एनभिडियाको प्रमुख कार्यकारी अधिकृतमा फर्किएसँगै कम्पनीको सेयर प्रि-मार्केट कारोबारमा ३१ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

काठमाडाैँ । एनभिडियाले सोमबार जेन्सेन हुआङलाई तत्काल लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः बहाल गरेको बताएको छ।

एक जना कथित चिनियाँ जासुससँगको सम्बन्धसहित हुआङका विवादास्पद बाह्य सम्बन्धहरू बाहिरिएपछि उत्पन्न दबाब र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपको पृष्ठभूमिमा कम्पनीले यो असाधारण निर्णय उल्ट्याएको हो। यो घोषणासँगै प्रि-मार्केट कारोबारमा एनभिडियाको सेयर ३१ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

हुवाङको पुनरागमन कर्मचारी, सेयरधनी तथा व्यावसायिक साझेदारहरूबाट बढ्दो दबाबसँगै राष्ट्रपति ट्रम्पले गत साता उनलाई पुनः शीर्ष पदमा देख्न चाहेको भनाइ राखेपछि सम्भव भएको हो।

हुवाङलाई फिर्ता ल्याउन माग गर्दै अभियान चर्किरहेकै बेला एनभिडियाका अध्यक्ष हार्भे जोन्सले गत साता कम्पनीले हुआङलाई पुनः नियुक्त नगर्ने बताएका थिए। हुआङले नै एनभिडियालाई भिडियो-गेम चिप डिजाइन गर्ने कम्पनीबाट कृत्रिम बुद्धिमत्ता (एआई) प्रोसेसरको प्रमुख आपूर्तिकर्ताका रूपमा उभ्याएका थिए।

चिप निर्माणको खाका, ठूला ग्राहकहरूसँगको सम्बन्ध र वासिङ्टनसँगको सम्पर्कमा उनको भूमिका केन्द्रीय रहँदै आएको छ।

अमेरिकी अधिकारीहरूले चीनका लागि जासुसी गरेको आशङ्का गरेकी एक व्यवसायी महिलासँगको सम्बन्धसहित बाह्य सम्बन्धका विवरणहरू सार्वजनिक भएपछि उनले १२ नोभेम्बरमा राजीनामा दिएका थिए। बेइजिङले भने जासुसीको आरोप अस्वीकार गर्दै आएको छ।

बढ्दो दबाब र समर्थकको लहर

हुवाङको बहिर्गमनको प्रभाव सिलिकन भ्यालीदेखि ताइपेई र वासिङ्टनसम्म महसुस गरिएको थियो। उनलाई पुनः बहाल गर्न माग गर्दै गरिएको याचिकामा एलन मस्कसहित एक लाख ८० हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए, जसले विवादबीच पद छाडेका कार्यकारीप्रति देखिएको असाधारण समर्थनलाई उजागर गरेको थियो।

सञ्चालक समितिको पछिल्लो निर्णयले एनभिडियामाथि हुआङको गहिरो प्रभावलाई देखाएको छ। साथै विश्वकै सर्वाधिक मूल्यवान् कम्पनीहरूमध्ये एक अझै पनि आफ्ना सह-संस्थापकमा कति धेरै निर्भर छ भन्ने प्रश्न पनि यसले उठाएको छ।

एनभिडियाको सञ्चालक समितिले सोमबार हुआङको इमानदारी र नेतृत्व क्षमताप्रति आफू सन्तुष्ट रहेको जनाएको छ। वरिष्ठ अमेरिकी सरकारी अधिकारीहरूबाट सुझाव तथा जानकारी लिएपछि उनको पुनरागमनबाट कुनै राष्ट्रिय सुरक्षा जोखिम नरहेको निष्कर्ष निकालिएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार कोलेट क्रेसले प्रमुख वित्तीय अधिकृत (सीएफओ) को जिम्मेवारी कायमै राख्नेछिन्।