महँगी नियन्त्रणमा सरकार चुक्यो, काँग्रेस चुप लागेर बस्नु हुँदैन : कांग्रेस केन्द्रीय सदस्य भट्ट
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशील भट्टले वर्तमान सरकार सुशासनको नारा दिएर आएको सरकार महँगी नियन्त्रण गर्नबाट पूर्ण रूपमा चुकेको बताएका छन् ।
उनको महँगीका कारण नागरिकहरूको जनजीवन दैनन्दिन बन्दै गइरहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ ।
उनले प्रधानमन्त्रीको हालैको भारत भ्रमणबाट हवाई रुट लगायतका केही विषय महत्त्वपूर्ण रहे पनि सीमा विवादका विषयमा सरकारको गम्भीर नदेखिएको टिप्पणी गरे ।
अर्को प्रसङ्गमा भट्टले पार्टीसँग चित्त दुखाएका नेता कार्यकर्ताहरूसँग संवाद गरेर पार्टीमा फर्काउन ढिला गर्नु नहुने पनि बताए । मङ्गलवार बसेको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै काँग्रेसका युवा नेता समेत रहेका भट्टले सो धारणा राखेका हुन् ।
अब स्थानीय र प्रदेशको चुनाव लक्षित तयारीमा पार्टी लाग्नुपर्ने बताउँदै उनले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरूसँग संवाद गरेर पुनः पार्टीमा फिर्ता ल्याउनुपर्ने उनको भनाइ रहेको छ ।
भोटेकोसी बाढीदेखि बूढी गण्डकी बाढी प्रभावितहरूका लागि सरकारले उचित ढङ्गले काम गर्न नसकेकोमा पार्टीको तर्फबाट सरकारलाई थप घचघच्याउन लागि आग्रह गरे ।
‘पार्टी सभापतिज्यू भोटेकोसी बाढी प्रभावित स्थलको अवलोकन गरेर फर्किनुभएको छ । त्यसबारे उहाँका केही धारणा पनि हामीले सुन्यौँ कि जनताले सास्ती भोगिरहेका छन् भन्ने । त्यसो त असोज २५ को बूढी गण्डकी बाढी प्रभावितलाई सरकारले राहत उपलब्ध गराउन सकेको छैन । पुनस्र्थापनाका काम अघि बढेनन् । सरकारी कोषमा पैसा छ तर पीडितको हातमा राहत रकम पुगेको छैन,’ उनले भने, ‘सभापतिज्यू, पदाधिकारी तथा सदस्य साथीहरू र सांसदमा प्रतिनिधित्व गर्ने साथीहरू हाम्रो ध्यान अब सरकारलाई घचघच्याउने र बाढी प्रभावित नागरिकहरूको समस्या समाधानका लागि पहल गर्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ ।’
यसै गरी काठमाडौँमा नदी किनारबाट हटाइएका सुकुमबासीहरुको उचित व्यवस्थापन हुन नसकेको विषयमा समेत उनले पार्टी मार्फत सरकारको ध्यानाकर्षण गराए ।















