व्यापार सहजीकरणका लागि पुर्वाधारहरूमा ध्यान दिन निजी क्षेत्रको जोड
काठमाडौं । व्यापार सहजीकरणका लागि भन्सार र सिमा नाकाका पुर्वाधारहरुमा ध्यान दिनु पर्ने सुझाव उद्यमी व्यवसायीहरूको छ । अहिले रेलमा आधारित सुख्खा वन्दरगाह विरगंजको मात्रै भएकाले बिराटनगर, भैरहवा लगायतमा पनि रेलमा आधारित आइसिडीको विस्तारमा ध्यान दिनु पर्ने निजी क्षेत्रले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा हिजो महासंघ सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरुले विराटनगर र भैरहवा निक्कै भाइब्रेन्ट नाका भएर आएकाले रेलमा आधारित आइसिडीको विस्तारमा ध्यान दिनु जरुरी भएको धारणा राखका छन ।
नेपाल भारत सिमामा बन्दै गरेका आइसिपीहरूको निर्माण तत्काल पुरा गर्न जोड दिंदै कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरुले भने–यसले पनि व्यापार सहजीकरणका साथै लागत घटाउछ । भौतिक पुर्वाधारमात्र नभई अन्य सुविधा र प्रविधिको प्रयोग बढाउनु आवश्यक छ ।
अर्थ मन्त्रालयका सचिव(राजस्व), भंसार विभागका महानिर्देशक र अर्थमन्त्रालय अन्तरगतका विभिन्न निकायका पदाधिकारीहरू सहभागी कार्यक्रममा उद्यमी व्यवसायीहरुले नेपाल भारत सिमामा बन्दै गरेका आइसिपीहरुको निर्माण तत्काल पुरा गर्नुपर्ने, नेपाल भारत बीचको खुला सिमाका कारण हुने अनधिकृत व्यापारलाई रोक्ने तर्फ ध्यान जानुपर्नेमा जोड दिंदै भन्सार प्रशासनले यसको नेतृत्व लिन सुझाव दिएका थिए ।
त्यस्तै कार्यक्रममा भंसार विभागका महानिर्देशक सुमन दाहालले भंसार प्रशासनको नियमित सुधारका लागि विभाग क्रियाशिल रहेको र फिल्डमा देखिएका समस्या समाधानमा विभाग सदैव तयार रहेको बताए । साथै उहांले भंसार विभागमा निकै धेरै सुधार भएको र यो नियमित रहेको पनि स्पष्ट पारेका थिए ।
अर्थमन्त्रालयका सचिव रामशरण पुडासैनीले हरेक सुधारका अभियानमा सरकारलाई निजी क्षेत्रबाट बलियो सहयोग प्राप्त भएको भन्दै कर राजस्व सुधारमा पनि निजी क्षेत्रको सहयोग आवश्यक भएको बताएका छन ।निजी क्षेत्रलाई उद्योग व्यवसाय गर्दा कहां समस्या छन् तपाईहरु स्पष्ट रुपमा भन्नुहोस सरकार सहयोग गर्न तयार छ, सचिव पुडासैनीले भन्नु भने ।
कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति संदीप अग्रवालले महासंघको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।
















