बीमा संस्थानको मुद्धती निक्षेपमा रु. १९ अर्ब ९४ करोड लगानी, १५ रोपनी जग्गामा २ भवन अचल सम्पत्ती
काठमाडौं । राष्ट्रिय बीमा संस्थान स्थापनाको ५३ बर्ष पुरा गरी ५४ औं बर्षमा प्रवेश गरेको छ । बीमा व्यवसायको आवश्यकता र महत्वलाई जनमानसमा स्थापित गराउन, वित्तीय श्रोतको परिचालन तथा जोखिम व्यवस्थापनको माध्यमबाट अर्थतन्त्रको सुदृढीकरण गर्न र सर्वसाधारणको आत्मविश्वास जागृत गराउन संस्थानले बीमा सचेतना र पहुँच बृद्धिमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।
बीमा संस्थानको आर्थिक बर्ष २०७७÷७८ को प्रथम अर्धवार्षिक सम्मको विवरण अनुसार कुल बीमालेख संख्याः ७ लाख ३५ हजार ८१९ रुपैयाँ, बीमाशुल्कः ५ अर्व ६८ करोड रुपैयाँ, लगानी आम्दानीः १ अर्व १६ करोड रुपैयाँ, दाबी भुक्तानीः १ अर्व ४४ करोड रुपैयाँ, व्यवस्थापन खर्चः ८ करोड ७५ लाख रुपैयाँ, बचतः ५ अर्व १८ करोड रुपैयाँ र बीमा कोषः ३१ अर्व ७२ करोड रुपैयाँ रहेको छ ।
स्थापनाकाल
देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने तथा बिदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले वि.सं. २०२४ पौष १ गते राष्ट्रिय बीमा संस्थान प्रा. लि. को स्थापना भई सोही वर्षको फाल्गुण ११ गते देखि व्यवसाय शुरु गरेको यस संस्थान राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि वि.सं.२०२५ पौष १ गते देखि राष्ट्रिय बीमा संस्थानमा परिणत भएको हो ।
प्रारम्भमा निर्जिवन बीमा व्यवसाय सञ्चालन गरेको यस संस्थानले वि.सं. २०२९ साल फाल्गुण ७ गतेदेखि जीवन बीमा व्यवसाय समेत सञ्चालन गरी जीवन बीमा व्यवसाय सञ्चालन गर्ने पहिलो बीमा सेवा प्रदायक बन्न पुग्यो । बीमा शब्दलाई नेपाली जनमानसमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको संस्थानले सर्वसाधारणको जीवनमा आइपर्ने जोखिमलाई न्यून गरी गुणस्तरीय जीवनशैली प्रत्याभूत गर्न सफलता प्राप्त गरेको छ । छरिएर रहेको स–साना वित्तीय श्रोतलाई बीमाको माध्यमबाट संकलन गरी पूँजी निर्माण गर्न पनि संस्थानले ठूलो योगदान गरेको छ ।
संस्थानको पँजी संरचना र सञ्चालक समिति
संस्थानको पूँजी संरचनामा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको संस्थापक शेयर स्वामित्व क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत र १६.६७ प्रतिशत रहेको छ ।
राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को दफा ६ बमोजिम संस्थानमा सात जना सम्मको सञ्चालक समिति रहने र अध्यक्ष लगायत बहुमत सञ्चालकहरूको नियुक्ति नेपाल सरकारले गर्ने र बाँकी सञ्चालकहरू शेयरधनीहरूद्धारा नियुक्त गर्न व्यवस्था रहेको छ । हाल गंगाराम कँडेल संस्थानको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । सञ्चालक समितिका सदस्यहरूमा नेपाल सरकारबाट बसन्तराज पाण्डे र कपिल प्रसाद सुवेदी, नेपाल राष्ट्र बैंकको प्रतिनिधित्व गर्ने गरी विमलराज खनाल, नेपाल बैंक लिमिटेडको प्रतिनिधित्व गर्ने गरी होम बहादुर खडका र नेपाल सरकारबाट नियुक्त प्रशासक कवि प्रसाद पाठक रहनु भएको छ ।
नेपालको बीमा बजारमा संस्थानको उपस्थिति
वि.सं. २०७७ पौष मसान्त सम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरूको जीवन बीमा कोष ३ खर्ब २३ अरब १८ करोड़ रहेको छ । जीवन बीमा कोषको सन्दर्भमा राष्ट्रिय बीमा संस्थान चौथो जीवन बीमा सेवा प्रदायक हुन सफल भएको छ । यसले उक्त अवधि सम्ममा ३१ अर्ब ७२ करोड जीवन बीमा कोष कायम गरेको छ, जुन कूल जीवन बीमा कोषको ९.८२ प्रतिशत हुन आउँछ । चालु आर्थिक बर्षको श्रावणदेखि पौष मसान्तसम्म १९ वटा जीवन बीमा प्रदायकहरूको संकलित बीमाशुल्क ६६ अर्ब १६ करोड रहेकोमा राष्ट्रिय बीमा संस्थानको ५ अर्ब ६८ करोड रहेको छ । बीमाशुल्क संकलनमा तेश्रो स्थानमा रहन सफल यस संस्थाको बजार हिस्सा ८.५९ प्रतिशत रहेको छ । वि.सं. २०७७ पौष मसान्तसम्म कूल बीमालेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा यस संस्था ७ लाख ३५ हजार ८१९ बीमालेख सहित पाँचौ स्थानमा रहन सफल भएको छ ।
नेपाली जीवन बीमा बजारमा आफ्नो हिस्सा बढाउँदै लाने र कार्यक्षेत्र विस्तारको माध्यमबाट संस्थानले आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ । यसको लागि शाखा विस्तारलाई प्राथमिकतामा राखेको छ ।
लगानी व्यवस्थापन
लगानी व्यवस्थापन जीवन बीमा प्रदायकहरूको अर्को महत्वपूर्ण काम हो । बीमाशुल्कको रुपमा उपलब्ध वित्तीय श्रोतलाई नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्धारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा विद्यमान ऐन, नियम, नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी संस्थानले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको छ ।
सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरूमा आफ्नो श्रोतको उपयोग गर्ने सिलसिलामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा रु. २१ करोड १८ लाख शेयर पूँजी (हालको बजार पूँजीकरण रकम रु १.०३ अर्ब) र ४.७५ अर्ब ऋण लगानी गरेको छ । जलविद्युत लगानी तथा विकास कम्पनी लि.मा १ अर्व शेयर लगानी (हालको बजार पूजीकरण रकम रु ३,६४ अर्ब) गरिएको छ । त्यस्तै विद्युत उत्पादन कम्पनी लि.मा ६.६ करोड़को संस्थापक शेयर लगानी गरिएको छ । जलविद्युत लगानी तथा विकास कम्पनीको अगुवाइमा कम लागत तथा उच्च प्रतिफल युक्त जलविद्युत आयोजनाहरूमा स्वपूँजी तथा ऋण लगानी सम्वन्धमा छलफल भैरहेको छ । नागरिक लगानी कोषमा कुल शेयर पूँजीको ३१.५ प्रतिशत स्वामित्व रहनुका साथै सनराइज बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., लक्ष्मी बैंक लि., ग्लोवल आइ एम इ बैंक लि., एन आई सी एशिया बैंक लि. तथा नेपाल पुनर्बीमा कम्पनी लि. जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी रु. १९ अर्ब ९४ करोड रहेको छ ।
संस्थानको अचल सम्पत्ति
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संयुक्त स्वामित्वमा काठमाण्डौको रामशाहपथमा १५ रोपनी जग्गामा २ भवन रहेका छन् ।
















