राष्ट्रिय बीमा कम्पनीको कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनी राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ । बीमा कम्पनीले कुनै पनि बार्षिक प्रतिवेदन र वित्तीय विवरण के कति कारणले नेप्सेमा नपठाएको भनि सोधिएको स्पस्टिकरणमा कम्पनीले लेखा परिक्षणमा ढिला भएको उत्तर दिएको छ । सरोकार र लगानीकर्ताले अध्ययन गर्न सक्ने तथा नेप्सेले माग गरेबमोजिमका विवरणहरु पठाउने प्रतिबद्धता गरेसँगै कारोबार पनि फुकवा गरेको छ । वार्षिक प्रतिवेदन र वित्तीय विवरण पेश नगरेको भन्दै रोक्क गरेको कम्पनीको शेयर सोमबारबाट कारोबारमा आएको हो ।

नेप्सले धितोपत्र सूचीकरण विनियमावली अनुसार वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पेश नगरेको भन्दै स्पष्टिकरण माग गरि माघ १८ गतेदेखि कारोबार रोक्का गरेको थियो । कम्पनीले माघ २८ गते वित्तीय विवरण पठाउन केहि ढिलो भएको र आर्थिक वर्ष २०७५।७६ को लेखा परिक्षण सम्पन्न गर्न करिब २ महिना लाग्ने नेप्सेलाई जानकारी गराएको थियो ।
कम्पनीले फेरी फागुन १९ गते नेप्सेलाई पत्र पठाउदै आर्थिक वर्ष २०७५।७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य त्रैमासिक तथा अर्ध वार्षिक वित्तीय विवरणहरु नेप्सेमा पठाउने प्रतिबद्धता जनाएपछि दोस्रो बजारमा कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।













