आगामि बजेटमा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्ने कार्यक्रमहरु ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष ढकाल
इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याउँदा कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग व्यवसायलाई उकास्ने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
शनिबार उद्योग वाणिज्य संघ इटहरीको २२औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्रले धेरै ठूलो क्षति ब्यहोर्नुपरेको र गत वर्षको बजेट तथा मौद्रिक नीतिले समेट्न बाँकी क्षेत्रलाई समेट्ने गरी आगामि वर्षको बजेट आउनुपर्ने बताउनुभएको छ ।
“गत वर्षको बजेट तथा मौद्रिक नीतिले केही हदसम्म भएपनि कोभिड प्रभावित उद्योग व्यवसायलाई राहत दिन खोजिएको थियो । तर पनि यसले धेरै क्षेत्रलाई समेट्न सकेको छैन । यस वर्ष बजेट बनाउँदा कोभिड प्रभावित उद्योग व्यवसायलाई उकास्नेखालका थप नीति तथा कार्यक्रमहरु बनाउनु जरुरी छ,” उहाँले भन्नुभयो ।
प्रादेशिक संरचनामा गइसकेपछि मुलुकमा लगानीको वातावरण बन्दै गएको बताउँदै ढकालले अझै पनि केन्द्र, प्रदेश तथा स्थानीयतहबाट एकै प्रकारका करहरु लिने गरेको हुँदा व्यवसायीहरु दोहोरो करको मारमा परेको बताउनुभएको छ ।
“नयाँ संविधानको निर्माणसँगै मुलुकमा धेरै हदसम्म शान्ति, स्थिरता र विकासको वातावरण बनेको छ । संघीय संरचनामा स्थानीय तहहरुबीच विकासका लागि हुने प्रतिष्पर्धाले हामीलाई उत्साहित पारेको छ । तर पनि केही पुराना संरचना तथा नीतिका कारण अझैपनि हामीले खोजेजस्तो लगानीको वातावरण बन्न सकेको छैन । यसका लागि महासंघले सरकार तथा सरोकारवाला निकायलाई घच्घचाउने नै छ,” उहाँले भन्नुभयो ।
उहाँले अहिले बजेटको निर्माणको प्रकृया सुरुभएकोले यससम्बन्धी हुने छलफलमा निजीकोतर्फबाट आफ्ना एजेन्डाहरु राख्न उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।













