एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत रू. १० लाखको बीमा रकम भुक्तानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत रू. १० लाखको बीमा रकम भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरू समक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको काठमाडौं जिल्लास्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएकी काठमाडौंस्थित पानीपोखरी निवासी ५० वर्षिय आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहक महानुभावहरूले पाउन सक्नुहुनेछ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४२६ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू. २ करोड ६६ लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्