अन्तिम दिन सिईडिबी हाइड्रोपावरको आईपीओमा १७ लाख ३६ हजारको आवेदन

काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १७ लाख भन्दा बढिको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकहरुले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएको छ । कम्पनीको आईपीओमा २ अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको सेयर माग भएको कम्पनीले जनाएको छ । यो तथ्याङ्क थप हुन सक्छ ।
कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।