यसअघिको रेकर्ड तोड्दै नेप्से परिसूचक ऐतिहासिक उच्च बिन्दुमा पुग्यो, कारोबार रकममा छलाङ मार्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रौनकता छाएको छ । निरन्तर २ दिन ओरालो लागेको नेप्सेले बुधबारदेखि पुनः आफ्नै लयमा फर्किएको हो । सोक्रमअनुसार बिहीबार पनि नेप्सेमा हरियाली छाएको छ । लगानी गर्ने अन्य क्षेत्र ठप्प हुँदा नेप्सेमा लगानीकर्ता आएको अनुमान गर्न सकिन्छ । लगानी गर्न अन्य क्षेत्र कोरोना भाइरसको कारण बन्द रहेका छन् । जेठ १५ गतेको बजेट भाषण र केही दिन अघिको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले पनि सेयर बजारलाई उत्साह थपेको छ ।
जेठ महिनामा नेप्सले नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । कारोबार रकममा आएको उछालदेखि नेप्से परिसूचक अझै बढ्ने देखिएको छ । कहिले काहीँ बजारमा सामान्य करेक्शन देखिएपनि नेप्से अझै नयाँ उचाइमा पुग्ने सेयर विज्ञहरु बताउछन् ।
साताको अन्तिम दिन नेप्से परिसूचकमा नयाँ उचाई हासिल गरेको छ । यसअघि आइतबार जेठ १६ गते नेप्से परिसूचक २८२७.९३ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो जुन हालसम्मकै उच्च अंक हो । उक्त रेकर्ड बिहीबार ब्रेक गरेको छ । बिहीबार नेप्से परिसूचक २९.६४ अंकले बढेर २८५६.७७ अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु बनाएर नयाँ रेकर्ड बनाएको हो ।
त्यस्तै, बिहीबार दिनभरिमा २१८ कम्पनीको ३ कराृड ४६ लाख ९१ हजार सेयरकित्ता १ लाख ५५ हजार पटक किनबेच हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार रुपैयाँको कारोबार भएको छ । यस अघि आइतबार १७ अर्ब २ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । बिहीबार कारोबार रकममा छलाङ मारेपनि नयाँ रेकर्डमा पुग्न भने सकेको छैन् ।
बिहीबार ट्रेडिङ समूह ९.६८ अंक, हाइड्रो पावर समूह ६०.०३ अंक, निर्जीवन बीमा समूह ११२.६८ अंक र अन्य समूह १५.९१ अंकले घटेको छ ।
माइक्रोफाइनान्स ४०.३५ अंक, इन्भेष्टमेन्ट समूह ०.०७ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो समूह ७१.२४ अंक, होटल तथा पर्यटन समूह ११७.११ अंक, बैंकिङ समूह ५०.४० अंक, जीवन बीमा समूह ५.१२ अंक, डेभलपमेन्ट बैंंक समूह १४५.१६ अंक, फाइनान्स समूह ६२.८५ अंक र म्युचुअल फण्ड ०.१९ अंकले बढेको छ ।















