निषेधाज्ञामा पनि निक्षेपभन्दा कर्जाको बृद्धि झण्डै दोब्बर
काठमाडौं । बैंकहरुले निषेधाज्ञाको समयमा पनि निक्षेपको तुलनामा कर्जा अत्यधिक बढाएका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार जेठको ३ सातामा बैंकहरुले लिएको निक्षेपभन्दा १० अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् ।
यसबीच २७ बाणिज्य बैंकमा १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने २३ अर्ब रुपैयाँ ऋण बढेको छ । यस बीचमा निजी क्षेत्रका व्यवसायिले कोभीड उपचार र रोकथापमका लागि विभिन्न स्वास्थ्य उपकरणको आपतकालिन आयात बढाएका कारण कर्जा थपिएको बैंकरले बताएका छन् । त्यस्तै सेयर बजारमा पनि जेठमा थप कर्जा लगानी भएको बैंकर बताउँछन् ।
सञ्चालनमा रहेका २७ वाणिज्यहरुले बैशाख मसान्तसम्म ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन जेठको तेस्रो सातासम्म आइपुग्दा २३ अर्ब रुपैयाँ थपिएर ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । गएको बैशाख मसान्तमा बाणिज्य बैंकमा ३९ खर्ब ५५ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ २१ गतेसम्म आइपुग्दा १३ अर्ब रुपैयाँ थप भएर ३९ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।