मर्जर प्रस्ताव पारित गर्न सिटिजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारणसभा आज हुँदै
काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सको बिशेष साधारण सभा आज हुँदैछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्सको बिशेष सधारण सभा आज (जेठ २७ गते बिहीबार) बिहान ९ बजे हुँदैछ । दुबैले भर्चुअल माध्यमबाट विशेष साधारणसभाका लागि शेयरधनीहरुलाई आह्वान गरेका हुन् ।
सभामा सिर्जना फाइनान्सलाई प्राप्ति तथा एक्विजिसन गर्ने सम्वन्धि बिशेष प्रस्ताव माथि छलफल गरि पारित गर्नेछ । सिटिजन्स बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी जेठ ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भैसकेको छ । सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् ।
सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाईसमेत प्राप्ति गरेपछि बैंकको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ पुग्नेछ । ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।












