५ कम्पनीको साधारण सभा आज हुँदै, ३ कम्पनीको लाभांश र २ कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गर्दै
काठमाडौं । विभिन्न ५ कम्पनीको साधारण सभा आज हुँदैछ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड र ललितपुर फाइनान्स कम्पनी लिमिटेडको साधारण सभा आज जेठ २८ गते शुक्रबार, हुँदै छ । जसमा ३ कम्पनीको साधारण सभाले लाभांश र २ कम्पनीको सभाले मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ ।
१. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुँदैछ । सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रक्रिया सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने जनाएको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ । त्यस्तै, सभामा लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । बार्षिक प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २ गते बसेको संचालक समितिको बैठकले कम्पनीको साधारण सभा शुक्रबार ४ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरिसकेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पूँजीको सेयरधनीहरुलाई १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने प्रस्ताव रहेको छ । चैत्र ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ३.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो
त्यस्तै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
कम्पनीले जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
४. नेपाल फाइनान्स कम्पनी लिमिटेड
नेपाल फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १.१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ । सभाले ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ ।
५. ललितपुर फाइनान्स कम्पनी लिमिटेड
ललितपुर फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १.१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ । हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ ।