आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा संचालनमा आउने, आज कुन–कुन पसल खुला हुन्छन् ?

काठमाडौं । आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा संचालनमा आउने भएका छन् । आजदेखि बैंक, वित्तीय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भिडभाड कम हुने गरी बैकल्पिक उपाय अवलम्बन गरी संचालन गर्ने निर्णय भएको छ । तर भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भिडभाड गरे कारवाही गरिने बताए । यस अघि सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो । आइतबार बसेको बैठकले निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था र बीमा कमपनीहरु पूर्ण रुपमा सञ्चालन गर्न दिने निर्णय भएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाईएको हो । आइतबार बसेको काठमाडौं उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिलला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थप गर्दै अषाढ १४ गतेसम्म जारी गरिएको हो । बैठकले वार अनुसार पसलहरु सञ्चालन गर्न दिने भनेको छ । निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने निषेधाज्ञामा चल्न पाउने छैनन् ।
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् । बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
Nisedhagya