परिसंघ र बैंकर्स संघ बीच समसामयिक विषयमा छलफल « Arthapath.com
१० चैत्र २०७६, सोमबार

परिसंघ र बैंकर्स संघ बीच समसामयिक विषयमा छलफल



काठमाडौं । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग तत्काल छलफल गर्ने भएको छ । चैत्र ९ गते परिसंघमा आयोजित एक छलफल कार्यक्रममा उक्त निर्णय भएको परिसंघले जनाएको छ ।

बैठकमा कोरोना रोकथाम तथा उपचार प्रक्रियामा विशेषतः स्वास्थ्य सम्बन्धी पूर्वाधार, उपकरण तथा आपतकालिन व्यवस्थापन लगायत समसामयिक विषयमा सरकारसँग कुन प्रकारले तत्काल सहकार्य गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको थियो ।

परिसंघले हाल संसारका अन्य मुलुकहरुले गरिरहेको लकडाउन जस्तै नेपालमा समेत पूर्ण रुपमा लकडाउन भएमा अर्थतन्त्रका विभिन्न क्षेत्रहरु जस्तैः उद्योग व्यवसाय, बैकिङ्ग, पर्यटन, आपूर्ति व्यवस्था लगायत सामाजिक क्षेत्रमा के कस्ता असर हुन सक्ला ? साथै अन्य मुलुकहरुले अहिलेको समस्यासँग जुध्न अपनाएका नीतिहरुका बारेमा अध्ययन गर्ने र उक्त अध्ययन प्रतिवेदन सरकारलाई अविलम्व पेश गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले आफ्ना सदस्य उद्योगहरुलाई वैयक्तिक स्वास्थ्यका नियमहरु पालना गर्दै बजारमा आपूर्ति अभाव नहुने गरि उत्पादन जारी राख्न र आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आग्रह गरेको छ ।

उक्त छलफल कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरी लगायत परिसंघका पदाधिकारी तथा गभनिङ्ग काउन्सिलका सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्