ज्योति विकास बैंकले रेबानमा आवद्ध व्यवसायीलाई बिना धितो कर्जा दिने

काठमाडौं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियत पूर्ण कर्जा प्रदान गर्नेछ ।
सम्झौता पश्चात बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।
यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वितिय साक्षरता, उद्यमशीलता विकासका निमित्त रेबानसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ ।