अमेरिका र यूएईलाई उछिन्दै अर्जेण्टिना कसरी बन्यो नेपालको तेस्रो ठूलो ब्यापार साझेदार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अमेरिका र यूएईलाई उछिन्दै अर्जेण्टिना कसरी बन्यो नेपालको तेस्रो ठूलो ब्यापार साझेदार ?



काठमाडौं । नेपालमा अर्जेण्टिना भन्ने वित्तिकै धेरैले फुटबल सम्झन्छन् । डिएगो म्याराडोना र लियोनेल मेस्सीजस्ता विश्वचर्चित फुटबलरको यो भूमिसँग नेपालको अर्को नाता थियो, फकल्याण्डको युद्ध । दक्षिणी ध्रुव नजिकैको यो सानो टापु जित्न ब्रिटिशहरुले गोर्खा सैनिक पठाएका थिए ।

कयौं हताहतिका बाबजुत गोर्खा फौजले अर्जेण्टिनीमाथि विजय हासिर गर्यो र यो टापु ब्रिटिशलाई सुम्पियो । यो घटना अहिले कोपा अमेरिकामा भिडिरहेका मेस्सि जन्मनुभन्दा ५ वर्षअघि अर्थात् सन् १९८२ को अप्रिलको हो । तर, अब अर्जेण्टिनासँग नेपालको नाता फेरिएको छ ।

ग्लोबमा नेपालदेखि ठीक विपरित ध्रुवमा रहेको यो ल्याटिन अमेरिकी मुलुक अब नेपालको तेस्रो ठूलो ब्यापार साझेदार बनेको छ । छिमेकी मुलुक भारत र चीनपछि नेपालको तेस्रो ठूलो ब्यापार साझेदारका रुपमा अर्जेण्टिना उदाएको भन्सार विभागको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको ११ महिना अर्थात् गत जेठ मसान्तसम्मको अन्तर्राष्ट्रिय ब्यापार तथ्यांकले यस्तो देखाएको हो ।

यसअघि लामो समय नेपालको तेस्रो ठूलो ब्यापार साझेदारको रुपमा संयुक्त राज्य अमेरिका रहँदै आएको थियो । अहिले अमेरिकाको स्थान पाँचौं नम्बरमा झरेको छ । गत महिनासम्म तेस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्स अहिले चौंथो नम्बरमा ओर्लिएको छ ।

गएको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार कुल अन्तर्राष्ट्रिय ब्यापारको करीब ७९ प्रतिशत भारत र चीनसँगमात्रै हुन्छ । यसमध्ये भारतको हिस्सा ६५ प्रतिशत र चीनको १४ प्रतिशत छ । तेस्रो नम्बरमा रहेको अर्जेण्टिनासँगको दुई पक्षीय ब्यापार नेपालको कुल अन्तर्राष्ट्रिय ब्यापारको २.३५ प्रतिशत हाराहारी पुगेको छ ।

भन्सार विभागको तथ्यांकमा आधारित ।

अर्जेण्टिनासँगको ब्यापार साझेदारी बढ्नुको मूल कारण भने त्यहाँको भटमासको कच्चा तेल आयात चुलिएकाले हो । नेपालले पछिल्लो समय कहिले पाम तेल त कहिले भटमासको तेल निर्यात गरेर निकासीको तथ्यांक बढाइरहेको छ । भारतले नेपालबाट पाम तेल किन्न छाडेपछि अहिले भटमास तेलमा ब्यापारीहरु लागि परेका छन् ।

ठूलो मात्रामा भटमासको तेल निर्यात गरेकाले दशकअघिदेखि निर्यात १ खर्बभन्दा धेरै बनाउने भन्ने सरकारी लक्ष्य बल्ल यस वर्ष पुरा भएको छ । यसरी निर्यात बढाउन भटमासको कच्चा तेल आयात गर्ने एक मुख्य बजार अर्जेण्टिना हो । जहाँबाट पछिल्ला ११ महिनामा ३४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको भटमासको कच्चा तेल आयात गरिएको छ ।

यसबाहेक अर्जेण्टिनालाई मकै किन्नमा पनि नेपालले ठूलो पैसा तिरेको छ । त्यस्तै गेडागुडी, कच्चा सूर्यमुखि र पाम तेलको आयातमा पनि निकै ठूलो रकम नेपालबाट अर्जेण्टिना पुगेको छ । स्वास्थ्य उपकरण र औषधिका कच्चा पदार्थ लगायत वस्तु नेपालले अर्जेण्टिनासँग किनेको छ ।


प्रतिक्रिया दिनुहोस्