डिसहोमले तत्काल आईपीओ नल्याउने, बूकबिल्डिङमा जाने तयारी
काठमाडौं । डीटीएच टेलिभिजनपछि अब फाइबर इण्टरनेटको सेवा विस्तारमा लागेको डिसहोमले तत्कालै प्राथमिक शेयर (आइपीओ) निष्काशन नगर्ने भएको छ । सञ्चित कोष बढाएर ‘बूक बिल्डिङ’ मार्फत् मात्रै सेयर निष्काशन गर्ने डिस मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।
‘अहिले हाम्रो संचित कोषमा ६५ करोडजति छ । यो वर्षको नाफा जोडेपछि १ अर्ब नाघ्ला भन्ने अनुमान गरिएको छ,’ उनले भने, ‘त्यसपछि बूक बिल्डिङबाट शेयर निष्काशन गर्ने प्रक्रीया थाल्छौं ।’ बूक बिल्डिङमा जाने भने पछि चालू आर्थिक वर्षको लेखापरिक्षण पश्चात् मात्रै आइपीओको तयारी शुरु हुने देखिएको छ ।
डिसहोमले पछिल्लो समय फाइबर इण्टरनेट सेवा विस्तारमा ध्यान दिएको छ । सरकारले टेलिभिजनमा विदेशी विज्ञापन प्रकारण गर्न नपाइने गरी ‘क्लिन फीड’ कानून लागू गरेपछि डिसहोमको व्यवसाय खुम्चिएको छ । उक्त निर्णयपछि डिसहोमले कम्तिमा एक चौथाइ डीटीएच (डाइरेक्ट टु होम) सेवा गुमाएको थियो । यद्यपि, उक्त घाटालाई इण्टरनेटको बढ्दो रफ्तारले चाँडै पूर्ति गर्ने आचार्य बताउँछन् ।
‘छोटो समयमा २५ हजारभन्दा बढी ग्राहक हाम्रो फाइबर नेट सेवामा जोडिइसकेका छन्,’ आचार्यले भने, ‘हामी इन्टरनेट सेवा विस्तारमा आक्रामक बनेका छौं ।’ डीएच फाइबरनेट अहिले नै काठमाडौं उपत्यकाका साथै वीराटनगर, ढल्केबर, बर्दिबबास, इटहरी, बुटवलजस्ता शहरमा सेवा विस्तार गरिसकेको छ ।
अब चाँडै पोखरा, नेपालगञ्जजस्ता शहरमा सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । अबको एक वर्षभित्र नेपालका प्रमुख शहरहरुमा सेवा पुर्याउने र अर्को एक वर्षमा शहरोन्मुख क्षेत्रमा पनि सेवा विस्तार गरिसक्ने प्रबन्ध निर्देशक आचार्य बताउँछन् । ‘तीन वर्षभित्र नेपालभरका फाइबर नेट पुर्याउन सम्भव हुने सबै स्थानमा पुग्ने लक्ष्य राखिएको छ,’ उनले भने ।













