१३ श्रावण २०८३, बुधबार

अब उधारो बीमा गर्न बन्देज, यसअघि भएको गैह्रकानूनी काममा भने छुट !



काठमाडौं । बीमा कम्पनीहरुले ऐन बिपरीत उधारो बीमा गर्दै आएको पाइएपछि बीमा समितिले उक्त गैह्रकानूनी काममा रोक लगाएको छ । समितिले सोमबार एक सूचना प्रकाशित गर्दै ऐनको व्यवस्था सम्झाएको हो । चेकमार्फत् प्राप्त हुने बीमा शुल्क खातामा प्राप्त नभइ बीमा लेख जारी गर्ने गरेका उजुरी बीमा समितिले परेको थियो ।

खासगरी ठूला कर्पोरेट समूहले पहिनौंपछि मात्रै पैसा जम्मा हुनेगरी चेक दिएर पनि बीमा गर्ने गरेको गुनासो समितिमा आएको समितिमा पदाधिकारीले बताउँदै आएका थिए । यस्तो प्रबृत्ती नरोकिएपछि समितिले आज सूचना निकालेर त्यसो नगर्न भनेको छ ।

समितिले कम्पनीहरुलाई बीमा वापतको पैसा बैंक खातामा प्राप्त भएपछि मात्र जोखिम स्वीकार गर्न निर्देशन दिएको हो । समितिले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । बीमकले जोखिम ग्रहण गरेबापत बीमा शुल्क रकम प्राप्त गरेपछि मात्र बीमा मानिनेछ ।’

बीमा समितिले बीमा कम्पनीहरूलाई उधारो बीमा बिक्री नगर्न निर्देशन दिए पनि यसअघि गैह्र कानूनी काम गर्दै आएका घटनामा अनुसन्धान र कारबाही गर्न भने समितिले तदारुकता देखाएको छैन । भएको काममा नियामकीय ‘छुट’ दिनु उपयुक्त नहुने भए पनि समितिको सुपरिवेक्षण भूमिका कमजोर हुँदा यसो गर्ने अवस्था आएको एक बीमा कम्पनीका सञ्चालक बताउँछन् ।