भारतबाट ल्याउने बिजुली कटौती गर्ने, विद्युतीय उपकरण चलाउन कुलमानको आग्रह « Arthapath.com
१३ चैत्र २०७६, बिहीबार

भारतबाट ल्याउने बिजुली कटौती गर्ने, विद्युतीय उपकरण चलाउन कुलमानको आग्रह



काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युतको माग पनि ह्वातै घटेको छ । यो समयमा ग्यासको अभाव सृजना भएकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विधुतिय उपकरणहरु प्रयोगमा ल्याउन आग्रह गरेका छन् ।

बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतको माग ह्वातै घटेको हो । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युतको लोड घटेको हो ।

लकडाउन सुरु हुनुभन्दा पहिले देशभरको विद्युतको अधिकतम माग (पिक डिमाण्ड)१ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमाण्ड मंगलबार साँझ ७ बजे रेकर्ड गरिएको हो ।

मंगलबार राति विद्युतको माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युतको माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको माग ६ सय २८ मेगावाट छ ।

विद्युत् बढी खपत हुने काठमाण्डौ उपत्यकाको विद्युतको माग पनि घटेको छ । लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार देशभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाण्डौ उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ ।

काठमाण्डौ उपत्यकामा मंगलबार बिहान विद्युतको माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाण्डौ उपत्यकाको विद्युतको माग १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्