बालबालिकालाई लगाउन मिल्ने मोडर्नाको ४० लाख खोप मार्चमा आइपुग्ने

काठमाडौं । १२ वर्षदेखि १७ वर्षसम्मका लागि लगाउन मिल्ने मोर्डना खोपको ४० लाख मात्रा खरिदको लागि सम्झौता भएको छ ।कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता भएको हो ।
१२ वर्षदेखि १७ वर्षसम्म लगाउन मिल्ने खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आईपुग्ने छ । उक्त ४० लाख खोपले ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरी लाई खोप लगाउन मिल्ने छ ।
सम्झौता कार्यक्रममा बोल्दै “कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरू मध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिहरुका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु” स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।
“कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं,” माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन ।