गण्डकी प्रदेशले स्थानीय तहलाई ६ करोड ५० लाख राहत दिने

काठमाडौं । मंगलवार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत दिने भएको छ ।
निर्णयअनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले दुई करोड ६० लाख रुपैयाँ र ५८ गाउँपालिकालाई ५ लाखका दरले दुई करोड ९० लाख रुपैयाँ दिइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
उक्त रकम कोरोना भाइरस रोकथामकालागि प्रदेश सरकारले दिन लागेको हो । यो रकम प्रदेश सांसदको सहभागितामा सरकारले गठन गरेको राहत तथा आपूर्ति समितिले वितरण गर्ने छ ।