फाइजरले शुरु गर्‍यो कोभिड विरोधी चक्कीको बृहत परीक्षण « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

फाइजरले शुरु गर्‍यो कोभिड विरोधी चक्कीको बृहत परीक्षण



असोज १२, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले कोरोना भाइरस विरुद्धको औषधिको चक्कीको बृहत क्लिनिकल परीक्षण शुरु गरेको छ ।

संक्रमण भएका मानिसहरुको उपचारमा प्रयोग गर्न मिल्ने सो चक्कीको मध्यमदेखि अन्तिम चरणको परीक्षण शुरु गरिएको कम्पनीले सोमवार बताएको हो ।

अन्य कयौं कम्पनीहरुले पनि मुखबाट चक्कीका रुपमा खान सकिने एन्टि भाइरलमा काम गरिरहेका छन् ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न यसबाट संक्रमित भएका वा भाइरसको सम्पर्कमा आएका मानिसहरुको प्रभावकारी उपचार आवश्यक पर्ने आफूहरुको विश्वास रहेको कम्पनीका प्रमुख वैज्ञानिक अधिकृत मिकेल डोल्स्टानले भने ।

फाइजरले पीएफ–०७३२१३३२ नामक औषधिको विकास कार्य सन् २०२० को मार्चमा नै शुरु गरेको थियो । कम्पनीले रितोनाभिर नामक एचआईभीको उपचारमा प्रयोग हुने औषधिसँग मिलाएर यसको परीक्षण गरिरहेको छ । यस क्लिनिकल परीक्षणमा २ हजार ६६० जना वयस्कहरु सहभागी हुनेछन् ।

यिनीहरु सबै कोरोना भाइरसबाट संक्रमित वा भाइरसको सम्पर्कमा आएका व्यक्तिहरु हुन् । सहभागीहरुलाई ५ वा १० दिनसम्मका लागि पीएफ–०७३२१३३२ र रितोनाभिर वा प्लेसबो दिनमा दुई पटक दिइनेछ ।

परीक्षणको उद्देश्य औषधि कोरोनाको संक्रमण रोक्न सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने आँकलन गर्नु रहेको छ । रासस/ एएफपी


प्रतिक्रिया दिनुहोस्