निरन्तर ओरालो लागेको बजार बुधबार हरियाली, के कारणले बढ्यो बजार ?
काठमाडौं । यस साताको शुरुवातदेखि नै घटेको बजार बुधाबार भने बढेको छ । यस साता ठूलो अंकले घटेको बजारमा बुधबार ५० अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ अंकमा बन्द भएको छ । यसअघि हिजो मंगलबार ७० अंकले घटेको थियो । सोमबार ७३ अंक र आइतबार ६१ अंकले घटेको थियो ।
बुधबार दिनभरिमा २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर ६३ हजार ९१६ पटक किनबेच हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ग्रीन डेभलपमेन्ट बैंक र अपि पावर कम्पनीको शेयरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, बुधबार मनकामना स्मार्ट लघुवित्त, युनाइटेड इदिमर्दि हाइड्रो, कालिका पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रो पावर कम्पनीको ९ प्रतिशत भन्दा बढीले शेयर मूल्य बढेको छ ।
त्यस्तै, बुधबार मेगा बैंकका लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् । बुधबार अपि पावर कम्पनीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । बुधबार १३ वटा समूहमा नै हरियाली छाएको छ । बुधबार फाइनान्स समूह सर्वाधिक ४.८७ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर समूह ४.२२ प्रतिशतले बढेको छ ।
बुधबार किन बढ्यो बजार ?
नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष तथा कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटका अनुसार यस साता बजार निरन्तर घटेकाले बढेको बताए ।
बुधबार बजार बढ्नुमा कुनै कारण नभएको उनले बताए । सरकारले ल्याएको प्रतिस्थापन बजेट कार्यान्वयनमा आएसँगै बजार बढेको हुनसक्ने उनको भनाई छ ।
सरकार विस्तार हुने हल्ला चलेपनि त्यसको प्रभाव विस्तार भैसकेपछि मात्रै पर्नेछ । रानाभाटका अनुसार केही दिन रोकिएको बजेट कार्यान्वयन भएसँगै बढेको हुनसक्छ । उनले भने, ‘एउटा कारण चाही बजेट कार्यान्वयनमा आएर पनि हो, आजमात्रै स्थानिय तहमा ठूलो पैसा सरकारको खाताबाट गएको छ, अघिल्ला दिनहरुमा जति पेनिक भएको थियो, बैंकहरु पनि रिलिज भएका हुन् जस्तो छ, आज बढेको हिसावले भोलि पनि बजार बढ्ने सम्भावना छ, चाडपर्वले गर्दा बजारमा कुनै प्रभाव पर्दैन।’ तर निरन्तर घटिरहेको बजार धेरै घटेकाले बढ्नुनै थियो ।














