कोरोना बीमाको भुक्तानीबारे अर्थमन्त्रीले बीमा समितिसंग मागे विकल्प, ११ अर्ब दाबी के होला ?

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सर्वसाधारणले कोरोना बीमा गरेर कोरोना प्रमाणित भएर दाबी नपाएको प्रति चासो राखेका छन् । मन्त्री शर्माले बजारमा कोरोना बिमाको ११ अर्ब कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको सन्दर्भमा चासो राखेका छन् ।
मन्त्री शर्माले बुधवार मन्त्रालयमा बोलाएर बीमा समितिका पदाधिकारी र राजश्व सचिव कृष्णहरि पुष्करलाईसमेत राखेर छलफल गरेका गरेका छन् । मन्त्री शर्माले कोरोना बिमाको अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्नेबारे विकल्प सोच्न बीमा समितिलाई आग्रह गरेको अर्थमन्त्रीका प्रेस विज्ञ गोविन्द रोक्काले जनाए ।
बुधवार मन्त्री शर्माले बीमा समितिलाई बोलाएर वास्तविकता के हो भनेर प्रश्न गरेका हुन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितको बीमा समितिको टोलीले तत्कालीन सरकार र बीमा समिति, निजी बीमा कम्पनीहरूबिच भएको सहमति अनुसार बीमितलाई ४ अर्ब ३० करोड क्लेम तिरिसकेको छ । बाँकी सरकारको दायित्व भएकाले क्लेम भुक्तानी बारे विकल्प खोज्ने सहमति भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
निजी बीमा कम्पनीहरू, बीमा समिति, पुर्नबीमाको रिजर्भसहित बीमा कम्पनीहरूले भुक्तानी गरिसकेको र बाँकी क्लेम भुक्तानी कसरी गर्न सकिन्छ भनेर छलफल भएको बताइएको छ । बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल भएको हो । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् । विभिन्न बीमा कम्पनीहरूले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।