सरकारले बर्खास्त गरेपछि धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना अदालत जाने
काठमाडौं । मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि उनी अदालत जाने बताएका छन् । आफूलाई नियोजित र गैह्रकानूनी ढंगले बर्खास्त गरिएको आरोप उनले लगाए । ‘विवाह गरेर अर्को परिवारमा पुगेकी छोरिले शेयर किनेको विषयमा लाञ्छना लगाएर बर्खास्त गरिएको छ’, उनले भने, ‘यो कानूनसम्मत छैन ।’
ढुंगानाले आज बुधबार कार्यालय समयभित्रै आफूलाई बर्खास्त गरिएको पत्र प्राप्त भए आजै, नत्र तिहारपछि अदालत जाने बताए । ‘घटस्थपनादेखि अदालत बन्द हुने भएकाले आज मुद्दा दर्ता गर्न नभ्याए अब एकैपटक तिहारपछि अदालत जानुपर्ने हुन्छ’ उनले भने ।
ढुंगानाले सर्वोत्तम सिमेण्टको शेयरलाई कारण देखाएर आफूविरुद्ध शेयर बजारका खेलाडीहरु सक्रीय भएको बताए । ‘मैले जोखिमयुक्त ५० कम्पनीको सूची सार्वजनिक गरेका कारण अहिले बर्खास्त हुनु परेको हो,’ उनले भने, ‘लाखौं सर्वसाधारण जनताको सम्पत्ती जोखिममा पर्न नदिन चालिएको कदमले शेयर बजारका खेलाडीहरुले जोखिम महसुस गरेको उनले बताए ।
यही कारण ‘जसरी पनि हटाउने’ योजनामा ‘ठूला लगानीकर्ता’ लागेको उनी बताउँछन् । तिनै लगानीकर्ताको दबाबमा सरकारले आफूलाई बर्खास्त गरेको आरोप लगाएको छन् । सरकारले भने आन्तरिक सूचनामा आधारित रहेर आईपीओ जारी गर्न लागेको कम्पनीको शेयर किनेको आरोपमा बर्खास्त गरेको हो ।
ढुंगानालाईजस्तै शेयर किनेको आरोप लागेका धितोपत्र बोर्डकै सदस्य एवम् व्यवसायी चन्द्र ढकाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदले भने पहिले नै आआफ्नो पदबाट राजिनामा दिइसकेका छन् ।













