रिलायन्स लाइफ सबै सूचकमा चम्कियो, खुद दाबी भुक्तानी १११ प्रतिशत बढ्दा जीवन बीमा कोष ३ अर्बमाथि

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३८.१८ प्रतिशत बढेर ४ करोड १५ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ, जगेडा कोष ५२.२९ प्रतिशत बढेर २६ करोड ३४ लाख ९० हजार रुपैयाँ र जीवन बीमा कोष ११६.५१ प्रतिशत बढेर ३ अर्ब २ करोड १७ लाख ५ हजार रुपैयाँ जम्मा रहेको छ ।
कम्पनीको यस अवधिमा खुद बीमा शुल्क ५८.१० प्रतिशत बढेर ७३ करोड ५५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११०.६७ प्रतिशत बढेर १४ करोड २९ लाख २३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ७८ लाख ४२ हजार रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक बर्षको सोही अवधिमा ५ रुपैयाँ ७३ पैसा रहेकोमा यस बर्ष बढेर ७ रुपैयाँ ९२ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा र मुल्य आम्दानी अनुपात ६३.४८ गुणा रहेको छ ।
चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीले ९१ हजार ८९८ वटा बीमालेख बिक्री गरी ७९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १९१ वटा दाबी वापत १६ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४८ वटा दाबी वापत ४३ लाख ४९ हजार रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।