स्व. प्रकाश दाहाल स्मृती बक्सिङ प्रतियोगिता
स्व. प्रकाश दाहाल जस्तै जुझरु हुनुहोस: मन्त्री अथक
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताउनुभएको छ । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको बताउनुभएको हो ।
स्व. प्रकाश दाहालको स्मृतीमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको ब्यक्तित्वबाट आफु निकै प्रभावित भएको उल्लेख गर्नुभयो । सामाजिक रुपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठुलो सामर्थ देखाएको स्मरण गर्दै मन्त्री अथकले नेपाली खेलक्षेत्रको विकासमा दाहालको भुमिकाको खुलेर प्रशंसा गर्नुभयो । दाहालको ब्यक्तित्वसँग मिल्ने खालको खेल संचालन गरेको प्रति खुसी ब्यक्त गर्दै मन्त्री अथकले भन्नुभयो, “बक्सिङ बहादुरहरुको खेल हो, स्व. प्रकाश दाहाल पनि निकै बहादुर थिए ।”
फरक प्रसंगमा बोल्दै मन्त्री अथकले समग्र खेलक्षेत्रको विकासकालागि आफु चिन्तित रहेको बताउनुभयो । खेल क्षेत्रको विकासमा अबरोध पुर्याउने छुट कसैलाई नरहेको उल्लेख गर्दै त्यसखालको प्रवृत्तिलाई हाटाउँदै अगाडी बढ्न आफु प्रतिवद्ध रहेको समेत मन्त्री अथकले स्पष्ट पार्नुभएको छ ।
नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदमा आगामी मंसिर ३ गतेसम्म प्रतियोगिता संचालन हुने भएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको सोमबार एक औपचारीक कार्यक्रमका बिच मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।













