ई.चौरासीयाको रिहाईको माग गर्दै नेपाल भ्यालुयर्सद्वारा कुमारी बैंकको विरोधमा आन्दोलन « Arthapath.com
२ श्रावण २०८३, शनिबार

ई.चौरासीयाको रिहाईको माग गर्दै नेपाल भ्यालुयर्सद्वारा कुमारी बैंकको विरोधमा आन्दोलन



काठमाडौं । कुमारी बैंकको विरोधमा नेपाल भ्यालुयर्स एसोसियसनले धर्ना कार्यक्रम गरेको छ । आइतबार कुमारी बैंकको प्रधान कार्यालय टङ्गालको प्राङ्गणमा भ्यालुयर्सहरुले आन्दोलन गर्दै ई. राजेश कुमार चौरसियालाई निशर्त रिहाई तथा मूल्याङ्कन प्रक्रिया सम्बन्धी स्पष्ट मापदण्ड एवम् निर्देशिका जारी गर्न माग गरेका छन् । 

अनधिकृत रुपमा इन्जिनियरलाई कालो सुचीमा राख्ने काम बन्द गर, इन्जिनियरलाई लगाएको बैंकिङ्क कसुर फिर्ता गर, मूल्याङ्कनको प्रक्रिया यकिन गर लगायतका नारा लगाउँदै इन्जिनियरहरूले आइतबार आन्दोलन गरेका हुन् । 

नेपाल भ्यालुयर्स एसोसिशनका बरिष्ठ उपाध्यक्ष लक्ष्मण सेडाईले ई. चौरासीयालाई बिना कारण सीआइबीको हिरासतमा राखिएकोले तत्काल रिहाई गर्न माग गरेका छन् । चौरासीयाले पेशागत कार्य तथा मूल्याङ्कन गर्दा बैंकका कर्मचारीहरुको मिलेमतोमा फर्जी कागज बनाएर फसाएको उनले आरोप लगाए । आइतबार भ्यालुयर्सहरु कुमारी बैंकका देशभरिका शाखामा जम्मा भएर आन्दोलन गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने वरिष्ठ उपाध्यक्ष सेडाई बताउँछन् । 

नेपाल भ्यालुयर्स एसोशियनका केन्द्रिय अध्यक्ष ऋषि कोइरालाले विभिन्न आरोप लगाएर भ्यालुयर्सहरुलाई फसाउने गरेको बताए । कुमारी बैंकको प्रकरणमा ठगी गर्नेलाई तत्काल कारवाही हुनुपर्ने र त्यस्ता ठगहरुको मूल्याङ्कन नगर्न सुझाव दिए । सरकारले नीति नियम र कानुन बनाएमा आफूहरू जेल जानुपर्ने अवस्था नआउने अध्यक्ष ऋषि कोइराला बताउँछन् । यो आन्दोलन सांकेतिक भएकाले राज्यले तत्काल ऐन कानुन बनाउनुपर्ने उनीहरूले माग गरेका छन् । 

एनभिएले मंसिर ८ गते बिहान ११ बजे एनबिए अफिस धर्ना तथा विरोध कार्यक्रम र च्याप्टरहरूको हकमा सम्बन्धित च्याप्टरहरूको कुमारी बैंकको शाखामा विरोध तथा धर्ना गर्ने भएका छन् ।

नक्कली जग्गा धितो राखेर कुमारी बैंकले दिएको १९ करोड रुपैयाँ प्रकरणमा राजेश कुमार चौरासीयालाई सीआईबीको टोलीले पक्राउ गरेको छ । जुनसुकै इन्जिनियरले बैंकले दिएको कागजपत्रका आधारमा मूल्यांकन गर्ने भएकाले त्यसकै आधारमा पक्राउ गर्नु जायज नभएकोले तत्काल रिहाई गर्न माग गरिएको हो । चौरासीयालाई पूर्वाग्रही ढंगले फसाउन खोजिएको आरोप लगाइएको छ ।  

गायक योगेश्वर अमात्यको बाराको विश्रामपुर गाउँपालिकाको विश्वम्भरपुरमा रहेको १२ बिघा जग्गाको नक्कली कागजात खडा गरी भूमाफियाले कुमारी बैंकबाट ३८ करोडको मूल्यांकन गराई १९ करोड कर्जा गत साउनमा लिएका थिए । यसबारे नेपाल राष्ट्र बैंक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ ।

नेपाल भ्यालुयर्स एसोसियसनका मागहरु

नेपाल राष्ट्र बैंकको एकिकत निर्देशन २०७८ निर्देशन नम्बर १२–७८ मा रहेको अन्तर्गतको धितो मूल्याङ्कन कर्ता सम्बन्धी विशेष व्यवस्थाहरु परिमार्जन गर्नुपर्नेः 

१. मूल्याङ्कनकर्ताको काम कर्तव्य र अधिकार देहाय बमोजिम खुलाउनु पर्ने 
क. मूल्याङ्कनकर्ताको परिभाषा
ख. मूल्याङ्कनकर्ताको कर्तव्य
ग. मूल्याङ्कनकर्ताको अधिकार

२. मूल्याङ्कन कार्यविधि

नेपाल राष्ट्र बैंकको आव २०७४–७५ को नितिमा व्यवस्था भएबमोजिम यथासिघ्र मूल्याङ्कन कार्यविधि बनाई लागू गर्नुपर्ने । उक्त कार्यविधि नेपाल राष्ट्र बैंकमा एनभिएले पटक पटक बुझाई सकेको छ । 

३. २०७४ मंसिर २६ गते एनबिए र एनभिएबीच भएको सहमती सर्भिस एग्रीमेन्ट नेपाल राष्ट्र बैंकले निर्देशिकामा जारी गर्नु पर्ने ।

४. निर्देशिका ७ (२) मा भएको कुनै ईजाजत प्राप्त संस्थाले धितो लिलामी गर्दा सो धितोको मूल्याङ्कन रकम दुई तिहाई भन्दा कम भएमा कालो सूचीको लागि सिफारीस गर्ने भन्ने व्यहोरा व्यावहारीक रुपमा गलत छ । यसलाई परिमार्जन गरिनु पर्ने ।

५. इजाजत प्राप्त संस्थाले धितो मूल्याङ्कनकर्तासँग लिन सेवाको विवरण उल्लेख गरी सेवा सम्बन्धी करार सम्झौता गरेर मात्र बराउनु पर्ने छ । धितोसंग सम्बन्धित कागजातहरुको सत्यता (सक्कली–नक्कली) जाँच गरी एकीन भएपश्चात मात्र मूल्याङ्कनकर्तालाई उपलब्ध गराउनु पर्नेछ । मूल्याइकनकताले उपलब्ध गराएको धितो मूल्याङ्कन प्रतिवेदन स्वीकारयोग्य भए–नभएको यकिन गरेर मात्र ऋण कर्जा प्रवाह गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्