एमालेले महाधिवेशन गर्न व्यवसायीसँग चन्दा नलिने, यस्तो छ खर्च जुटाउने योजना « Arthapath.com
२ श्रावण २०८३, शनिबार

एमालेले महाधिवेशन गर्न व्यवसायीसँग चन्दा नलिने, यस्तो छ खर्च जुटाउने योजना



काठमाडौं । नेकपा एमालेले यो महाधिवेशनमा व्यवसायिबाट कत्ति पनि चन्दा नलिने घोषणा गरेको छ । एमाले सचिव एवम् प्रवक्ता प्रदीप ज्ञवालीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने, ‘विगतमा सबै महाधिवेशनमा ब्यापारीसँग चन्दा लिने गरिएको थियो । तर यसपालि हामीले एक रुपैयाँ पनि चन्दा नलिने भनेका छौं ।’

ज्ञवालीले आफ्नो पार्टीका ८ लाख ५५ हजार ४५३ जना संगठित सदस्यबाट प्रतिव्यक्ति कम्तिमा १०० रुपैयाँ लेबि उठाउन लागिएको बताए । महाधिवेशनको खर्च जुटाउन यसरी लेबी उठाउन लागेको उनले जानकारी दिए । यसरी पैसा उठाउँदा साढे ८ करोड रुपैयाँ उठ्ने ज्ञवालीले जानकारी दिए । उनले थपे, ‘हामीले महाधिवेशनको खर्च ७ करोड रुपैयाँ हाराहारी हुने अनुमान गरेका छौं । यसो हुँदा असक्षम संगठित सदस्यबाट लेबि नदिँदा पनि महाधिवेशनको खर्च जुटाउन सकिने अवस्था छ ।’

एकालेको स्थायी कमिटी सदस्य विष्णु रिमालले भने कम्तिमा १०० र त्यसभन्दा बढी सकेजति आर्थिक सहायता गर्न आह्वान गरिएको बताए । ‘क्यूआर कोड, मोबायल बैंकिङ, इण्टरनेट बैंकिङजस्ता सबै खाले सुविधा प्रयोग गरेर सिधै पार्टीको बैंक खातामा पैसा जम्मा गर्ने व्यवस्था गरिएको छ,’ रिमालले भने, ‘यसले सबै हरहिसाब पारदर्शि हुन्छ र खर्च पनि जुट्छ ।’

पार्टी महाधिवेशनमा चन्दा लिँदा व्यापारी व्यवसायिको अनेकौं स्वार्थ परिपूर्ति गरिदिनुपर्ने बाध्यता निम्तिने देखेपछि आफूहरुले संगठित सदस्यबाटै खर्च जुटाउने योजना बनाएको एमालेले जनाएको छ । एमालेका करीब १ हजार ६०० प्रतिनिधीहरु केन्द्रीय महाधिवेशनमा सहभागि हुने छन् । एमालेले आगामी १० देखि १२ मंसिरमा चितवनमा महाधिवेशन आयोजना गर्दै छ ।


प्रतिक्रिया दिनुहोस्