पेटिएमको आइपीओ डेब्यूमा सस्तियो २० प्रतिशत, नेपालमा के होला भुक्तानि कम्पनीको हालत ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

पेटिएमको आइपीओ डेब्यूमा सस्तियो २० प्रतिशत, नेपालमा के होला भुक्तानि कम्पनीको हालत ?



काठमाडौं । नेपालमा विद्युतीय भुक्तानी सेवा प्रदायकले प्राथमिक शेयर निष्काशन गर्नुपर्ने माग उठिरहेको बेला भारतको सबैभन्दा ठूले डिजिटल भुक्तानी कम्पनीको शेयर मूल्य भने भारी मात्रामा घटेको छ । भारतीय डिजिटल भुक्तानी प्लेटफर्म ‘पेटीएम’को शेयर मूल्य मुम्बई स्टक मार्केट डेब्यूमा २० प्रतिशतभन्दा धेरैले घटेको हो ।

कम्पनीले भारतको अहिलेसम्मकै ठूलो प्रारम्भिक शेयर निष्कासन (आईपीओ) गरेर बजारबाट २ अर्ब ५० करोड डलर बराबर पैसा उठाएको थियो । विजय शेखर शर्माले सन् २०१० मा स्थापना गरेको यो कम्पनी अहिले भारतको एक प्रमुख बहुराष्ट्रिय प्रविधी कम्पनी बनेको छ । गत वर्षमात्रै यो कम्पनीले ३२ अर्ब ८१ करोड भारतीय रुपयेको कारोबार गरेको थियो ।

पेटीएमले ‘फोनपे’ नाममा भुक्तानी सेवा दिन थालेपछि नेपालमा ईसेवाले पनि त्यही नाममा भुक्तानी सेवा दिन थालेको हो । यो कम्पनीले ठूलो आकारको प्राथमिक शेयर बजारमा बेचेपछि पहिलो दिनको कारोबारमै भारी मात्रामा सस्तिन पुगेको छ ।

केही लगानीकर्ताहरुले घाटामा गइरहेको पेटीएमको व्यवसायिक मोडलबारे चिन्ता व्यक्त गरेका छन् । पेटीएममा अहिले चिनियाँ भुक्तानी कम्पनी ‘एन्ट फाइनान्सियल’ र जापानी लगानी कम्पनी ‘सफ्टबैंक’ लगायतले समेत लगानी गरेका छन् । यही वर्ष पेटीएमको आईपीओ आउनु अघि नै भारतको शेयर बजारमा १० अर्ब ५० करोड डलर बराबरका अन्य कम्पनीका आइपीओ आइसकेका छन् ।

मुनाफामुलक बन्नेतर्फ लामो बाटो, उच्च मूल्यांकन र चर्को प्रतिस्पर्धाको सामना गर्नुपर्ने कारण विश्लेषकहरुले कम्पनीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । कम्पनीले कयौं व्यवसायमा हात हालेकोप्रति पनि धेरैले चिन्ता जनाएका छन् । कम्पनीको शेयरमूल्य आईपीओ जारी हुँदाको बेलाभन्दा ४० प्रतिशत वा त्यसभन्दा पनि बढी अन्तरले घट्न सक्ने भन्दै ग्लोबल ब्रोकरेज म्याक्क्वेरीले पेटीएमलाई ‘अन्डरपर्फम रेटिङ’ दिएको छ । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्