६ महिनामा वाणिज्य बैंकको नाफा ३४ अर्ब २० करोड रुपैयाँ, १६ बैंक अर्ब क्लबमा जाँदा ६ बैंकको नाफा घट्यो
काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकहरुले ३४ अर्ब २० करोड ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ३१ अर्ब ७ करोड ३१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत आर्थिक बर्षको पौष मसान्तको तुलनामा चालु आवको पौष मसान्तसम्मा वाणिज्य बैंकहरुले ३ करोड १३ लाख ५३ हजार ८० हजार रुपैयाँ अर्थात १० प्रतिशत बढी खुद नाफा आर्जन गरेका थिए ।
चालु आवमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक एक नम्बरमा रहेको छ । ग्लोबल आईएमई बैंकको खुद नाफा २ अर्ब ६६ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको २ अर्ब ४० करोड रुपैयाँ, तेस्रोमा नबिल बैंकको २ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १६ वटा बैंकको नाफा १ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।
५० करोड रुपैयाँदेखि ९५ करोड रुपैयाँसम्म नाफा आर्जन गर्नेमा बैंकहरुमा ११ वटा रहेका छन् । १ अर्बभन्दा कम रहेका बैंकहरुमा सिभिल बैंक, सेञ्चुरी बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, सनराइज बैंक र हिमालयन बैंक रहेका छन् ।
यस अवधिमा सिभिल बैंकको नाफा सबैभन्दा १४८ प्रतिशत बढेको छ । यस्तै, ६ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्राइम बैंक र सनराइज बैंकको नाफा घटेको हो ।














