हमालको कब्जामा धितोपत्र बोर्ड !
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । झण्डै ५ महिना रिक्त रहेको अध्यक्ष पदमा हमाल नियुक्त भएका हुन् ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी कांग्रेसको कोटाबाट अध्यक्षमा नियुक्त भएका हुन् ।
हमाल गैर आवासीय नेपाली हुन् । उनलाई अध्यक्ष बनाउन ठुलै व्यापारिक समूह लागेको स्रोत बताउँछ । शुरुमा हमालको नाम चर्चामै थिएन । एक्कासि सरकार र व्यापारीको पहलमा हमाललाई अध्यक्ष नियुक्त गरेको हो ।
हमाललाई अध्यक्ष बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि डा.आरजु राणाको हात रहेको स्रोत बताउँछ । व्यवसायीक कार्य योजना बाहेक कुनैपनि प्रस्तुतीकरण विना नै हमाललाई अध्यक्षमा नियुक्त गरेको एक आवेदकले अर्थपथसंग बताए ।
इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी, रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव छ । हमाल लामो समय थाइल्याण्ड लगायतका देशमा बस्दै आएका थिए । पछिल्लो करिब ३ र्षदेखि नेपालमा उनको नियमित बसाइ छ ।
योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमालका साथै कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको थियो । छनोट समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका थिए । आवेदन दिएका १५ जनामध्येबाट ५ जनामा डा गोपाल भट्ट, डा. रमेश हमाल, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र निरज गिरी परेका थिए ।












