भन्सार सहजीकरणका लागि नाडाको अनुरोध
काठमाडौं । फागुन ९ गते नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई स्वागत गर्दे भन्सार सम्बन्धी नीतिगत सुझावहरु समेत पेश गरेको नाडाले जनाएको छ ।
उक्त भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका छन् । सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भसूचि नै खारेजगरी भन्सारमा माल बस्तुको यथार्थ घोषणा र सही बर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न आग्रह समेत गरेका छन् ।
त्यसैगरी सो छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको बर्गिकरणमा केही परिमार्जन गरिनु पर्ने बताउदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढीलाई भईरहेकोले त्यसको समाधानका लागि अनुरोध गरेका छन् । त्यसैगरी अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरु बारे बताउदै एउटै बस्तुमा भिन्न भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङ्ग जस्ता अत्यावश्यकिय बस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरि दिनु हुन अनुरोध गरेका छन् । त्यसैगरी उपाध्यक्ष रिजालले न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका लागि पनि अनुरोध गरेका छन् ।
सोही छलफल कै क्रममा महासचिव सुरेन्द्र उप्रेतिले २०७३ अषार २६ गते भन्सार विभाग र नाडा विच भएको सहमतिबारे जानकारी दिदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिए संगै नेपाल राष्ट्र बैङ्कको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरेका छन् । त्यसैगरी महासचिव उप्रेतिले नेपालमा व्याट्री उत्पादनका संभावनाहरु बढदै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने व्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरेका हुन् ।
छलफलको अन्तमा महानिर्देशक भट्टराईले भन्सार विभागसंग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने छ भनि थप गरिनु पर्ने सुझाव दिदै नाडाबाट प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने बताएका छन् । सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।













