लघुवित्तको संख्या घटेपनि शाखा विस्तारमा आक्रामक बन्दै, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै « Arthapath.com
२२ फाल्गुन २०७८, आईतवार

लघुवित्तको संख्या घटेपनि शाखा विस्तारमा आक्रामक बन्दै, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको संख्या पछिल्लो समयमा मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेतापनि शाखा विस्तारको क्रम भने जारी नै रहेको छ । २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७८ पुस मसान्तसम्ममा उक्त संख्या घटेर ६७ कायम भएको छ ।

६७ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोककर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६३ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा ७.४४ प्रतिशतले वृद्धि भई ४ हजार ९ सय ६५ पुगेको छ ।

उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको केन्द्र संख्या ११.४३ प्रतिशतले वृद्धि भई ४ लाख ४ हजार, सदस्य संख्या ८.२९ प्रतिशतले वृद्धि भई ५६ लाख २२ हजार, ऋणी संख्या ५.९७ प्रतिशतले वृद्धि भई ३१ लाख ७१ हजार पुगेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुमा २३ हजार २ सय ८१ जना कर्मचारीहरु कार्यरत रहेका छन् । जुन २०७८ असारमसान्तको तुलनामा ११.५४ प्रतिशतले बढी हो ।

प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११३५ वटा शाखाहरु संचालनमा रहेका छन् । तत्पश्चात् लघुवित्त वित्तीय संस्थाको १०३१ शाखाहरु भएको मधेस प्रदेश दोस्रो स्थानमा रहेको छ । यसैगरी प्रदेश नं. १ मा लघुवित्त वित्तीय संस्थाको ८४९ शाखाहरु, बाग्मती प्रदेशमा ७२० शाखाहरु, गण्डकी प्रदेशमा ५६३, कर्णाली प्रदेशमा २२५ र सुदुर पश्चिम प्रदेशमा ४४२ शाखाहरु संचालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्